चेल्सी विजयी, आर्सनल बराबरीमा



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराती भएका खेलमा चेल्सीले वाटफोर्डलाई हराएको छ । इडेन हजार्डको दुई गोल मद्दतमा चेल्सीले वाटफोर्डलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा वाटफोर्डका रोबर्टो पेरेराले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि पहिलो हाफमा १–१ गोलको बराबरीमा पुगेको थियो । 

५८औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । 

त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । जितपछि चेल्सी ४० अंक जोडेर लिगको चौथो स्थानमा यथावत छ । पराजित वाटफोर्ड २७ अंकसहित नवौं स्थानमा छ ।

लिग अन्तरगत नै बुधबार राति भएको खेलमा आर्सनल ब्राइटन होव अल्वियोनसँग १–१ गोलको बराबरीमा रोकियो । आर्सनलका पिएरे हेनरिक औवामियाङले खेलको सातौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा घरेलु टोलीका जर्गेन लोकाडियाले बराबरी गोल फर्काए ।

बराबरीपछि आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । आर्सनलको ३८ अंक पुगेको छ । ब्राइटन २२ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्