जथाभावी मोटरसाईकलको लुकिङ ग्लास फेर्दा कारबाही हुने




काठमाडौ : ट्राफिक प्रहरीले मोटरसाइकलको लुकिङ ग्लास जथाभावी तोडमोड गर्नेलाई पनि कारबाही शुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको हो । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज सोमबार एक सूचना जारी गरी जनाएको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्