स्वास्थ्यमा उजुरीको चाङ : अधिकांश उपकरण खरिदसँग सम्बन्धित



काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य सम्बन्धित १ सय ६७ उजुरी परेको जनाएको छ । पछिल्लो तीन वर्षयता विभिन्न प्रकृतिका १ सय ६७ नयाँ उजुरी दर्ता भएका हुन् । सबैभन्दा बढी उपकरण खरिद र अनियमितता सम्बन्धित छन् ।

२०७४/७५ मा ६६, २०७५/७६ मा ७५ र २०७६ कात्तिक मसान्तसम्म २५ वटा नयाँ उजुरी दर्ता भएको केन्द्रले जनाएको छ । पछिल्लो तीन वर्षमा १ सय ७७ उजुरी फछ्र्योट भएका छन् । जसअन्तर्गत वीर अस्पतालमा बिरामीलाई खुवाउने खाना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भवन निर्माणमा अनियमिततालगायत छन् ।

काठमाडौंबाहेक अन्य जिल्लामा उपकरण खरिद क्रममा लागत अनुमान तयार गर्दा ‘ओभरहेड कस्ट’ र ‘प्रोफिट’समेत जोडेर तयार गरेको विषयमा पनि उजुरी परेको छ ।

स्वास्थ्य कर्मचारी समायोजन प्रक्रियामा नियम मिचेको विषयमा समेत उजुरी परेको छ । त्यसबारे गुनासो नआउने गरी व्यवस्था गर्न केन्द्रले निर्देशन दिइसकेको छ । केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य कार्यक्रममा ‘कमिसन’का लागि आवश्यकै नभएको ‘क्लोरहेक्जिडिन आयन्टामेन्ट’ औषधि खरिद गरिएको विषयमा उजुरी परेको थियो । यसबारे केन्द्रले भविष्यमा ‘स्पेसिफिकेसन’ सम्बन्धित उजुरी नपर्ने गरी कार्य गर्न विभागलाई निर्देशन दिइसकेको छ ।

 चार महिनामा २५ उजुरी, १७ टुंगियो

 तीन वर्षमा १६७ उजुरी

केन्द्र नीति निर्माण तथा अनुगमन महाशाखा अधिकृत भोलारमण अधिकारीले गुनासो आउन नदिने गरी व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दि“दै आएको जानकारी दिए ।

‘हामीले मन्त्रालय र मातहतका कार्यालयलाई गुनासो आउन नदिने गरी नियमानुसार गर्न भनेर निर्देशन दि“दै आएका छौं,’ उनले भने, ‘पैसा हानि नोक्सानी सम्बन्धित उजुरी कतिपय अख्तियारमा समेत पठाउँदै आएका छौं । ’

केन्द्रका अनुसार स्वास्थ्य क्षेत्र सम्बन्धित २०७४/७५ मा १०२, २०७५/७६ मा ५८, २०७६ देखि हालसम्म १७ वटा उजुरी फछ्र्योट भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्