काठमाडौंमा न्याय माग्दै निर्मलाका बुबाआमा



देश तीजको रौनकमा झुमिरहेको छ । सहर र सञ्चारमाध्यम दुवै राताम्मे भएका छन्। तर बुधबारै कञ्चनपुरले महेन्द्रनगरमा भने कालो कपडा लगाएर ब्ल्याक तीज मनायो। डेढ महिनादेखि समाचार र चासोको केन्द्रमा रहेको त्यही कञ्चनपुरबाट एउटा समूह भने न्यायको खोजीमा भन्दै काठमाडौं आइपुगेको छ। अधिकारकर्मीको साथ लागेर काठमाडौं आइपुगेका हुन्, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गा पन्त।

न्याय दिलाउँछौं भनेर धेरै आए। तर न्यायका लागि हामीले यसो गर्‍यौं भनेर भन्न कोही पनि आएनन्। त्यसैले काठमाडौं नै आउनुपर्‍योु, बुधबार साँझ कुराकानीमा दुर्गाले भनिन्।

तर काठमाडौं आएर पनि न्याय पाइन्छ नै होला भन्नेमा भने उति आशावादी सुनिएनन्, यज्ञराज। सोध्दाखेरी सबैले न्याय पाउनुहुन्छ भन्छन्, उनले निराश भावमा सुनाए, तर न्याय पाइएला भन्ने आशाचाहिँ छैन।

काठमाडौंमा उनीहरुले यथासम्भव उच्च पदस्थलाई भेट्ने प्रयास गर्नेछन्। र, सुनाउने प्रयास गर्नेछन्, डेढ महिना यताको आशाको भाषा। र, माग्नेछन्, न्याय। न्याय बाहेक त अरु केही चाहिएकै छैन।

महिना दिनयता निद्रा परेको छैन, पन्त दम्पतीलाई। मनमा कति कुरा खेलिसके। त्रासमय दिन उस्तै छ। भेट्न आउनेले आशा बाँड्छन्, उपलब्धी सुनाउँदैनन्। उकुसमुकुस मन बोकेर पन्त परिवार अहिले काठमाडौंमा छ।

सकसपूर्ण लामो यात्रा। गाडीको जाम। न निद्राको ठेगान, न खानाको ठेगान। कुराकानी अघि खाएको दही रोटीले पनि उर्जा थपेको जस्तो देखिएन। ओइलाए जस्तो देखिएका थिए यज्ञराज र दुर्गा।

कुराकानीको सुरुवातमा दुर्गाले सुनाइन्, छोरी खोज्दै बम दिदीबहिनीको घरमा पुगेको प्रसंग– म पीडामा उनीहरुको घरमा गएकी थिएँ। मैले ए रोशनी बाहिर निक्ल, मेरी छोरीलाई पनि निकालु भने। म चर्को स्वरमा बोलें। खासमा त्यसरी मैले कहिल्यै बोलेको पनि थिइनँ। हकार्नु परे पनि मेरै छोरीलाई हकार्थें।

तर उनले मीठो जवाफ सुनिनन्।

आफ्नो छोरी त्यहीँबाट हराएको र जवाफ पनि राम्रो सुन्न नपाएकाले उनलाई त्यो घरमाथि शंका छ। तर केही दिनसम्म थुनामा राखेका ती दिदीबहिनीलाई पनि प्रहरीले छाडिदिएपछि मर्माहत भएकी छिन्, दुर्गा। ती दिदीबहिनीलाई अझै निगरानीमा राखेर अनुसन्धान गरियोस् भन्ने लाग्छ, उनलाई। ुकिनभने मेरी छोरी सुरुमा त्यहीँ घरमा गएकी होु, उनी भन्छिन्, त्यसैले शंका हुनु स्वाभाविक हो। उनीहरु नै घटनामा संलग्न नभएका पनि हुनसक्छन ।

घटना त १० गते भयो। तर ९ गते साँझ नै रोशनीले बोलाइसकेकी रहिछन्। निर्मलालाई बोलाउने निहुँमा चटपटे खुवाएकी पनि रहिछन्। उनीहरुबाट राम्रो जवाफ नपाउनु तर घटना पनि घट्नुसँग बम दिदीबहिनीमाथि शंका छ, दुर्गालाई। नियतवश नै निर्मलालाई बोलाइएको होला जस्तो भन्ने लाग्छ उनलाई।

निर्मला नभेटिएपछि दुर्गाले हारगुहार गरिन्, फोन गर्न लगाइन्। तर कतै पत्ता लागेन।

आफूले फोन गरेको बेला प्रहरी नआइदिएको र नमीठो जवाफ फर्काएकोमा पनि चित्त कुँडिएको छ, दुर्गाको। स्थानीय मञ्जु भट्टले जिल्ला प्रहरी कार्यालयमा फोनमार्फत निर्मला हराएको खबर गरिदिएकी थिइन्, तर प्रहरीले रुखो जवाफ फर्कायो। उल्टै प्रहरीले हकार्‍यो। ुबिहान ११ बजे हराएको मान्छेलाई यतिखेर खोज्ने हो तु, प्रहरीले दिएको जवाफ सम्झेर दिक्क हुँदै उनले भनिन्, प्रहरीले नै त्यस्तो भनेपछि हामीले कसको आशा गर्ने

निर्मला हराएको दिन त परिवारले यस किसिमको घटनाको कल्पना नै गरेको थिएन। रोशनीकी दिदीले ुतिम्री छोरी पोइल गई होली भनेपछि परिवारले आफ्नी छोरीलाई कसैले बेच्न पो लग्यो कि भन्ने पनि लाग्यो। त्यसपछि उनीहरुले माइती नेपालको स्थानीय कार्यालयमा फोन गरे। बेच्नै लगिएको रहेछ भने पनि गड्डाचौकी पार गर्न नसकोस् भनेर मैले फोन गर्न लगाएँ, उनले भनिन्।

तर डर भने बढिरहेको थियो। मनमा अनेक किसिमका आशंकाहरु हुँडलिइरहेका थिए।

स्थानीयको सहयोगमा खोजी कार्य चल्यो। तर भेटिइनन्। बरु भोलिपल्ट निर्मलाको लास भेटियो।

त्यसयताका घटनाहरु देशभर फैलिएकै छन्। सबैलाई त्रसित तुल्याइरहेकै छन्। संसदमा कुरा उठेकै छन्। सवालजवाफ चलिरहेकै छन्। तर एउटै कुरा भइरहेको छैन, दोषी पत्ता लागेको छैन।

उनीहरुलाई पनि धेरैले आश्वासन दिए। दोषी पत्ता लगाएरै छाड्ने बताए। तर ती सबै गफमै सीमित भए।

पुलिसका आइजीले पनि आश्वासन दिए। साँझमा घरमा आएका उनले भोलि नै दोषी खोजिहाल्छौं भनेजस्तो गरे। उनले तपाईंकै समस्या समाधान गर्न आएको पनि बताए। जो र जहाँ भए पनि अपराधी खोज्छौं भनेर भने। दोषीलाई तपाईंको सामुन्ने ल्याउँछौं भनेर आएको भनेर विश्वास दिलाउन खोजे। दोषी खोजेर नै हामी जानेवाला छौं भने।

ुप्रहरी नै भए पनि खोजिदिनुहोलाु, आमाले बिलौना गरिन्, प्रहरीले नै सुरुदेखि प्रमाण मेटाउँदै गएको हो। हामीले खबर गरेका बेलामा पनि आइदिनुभएन।

प्रहरी मात्रै होइन, प्रहरीको बाउ भए पनि खोज्छौं भनेर आइजीले आश्वस्त तुल्याए। ुएसपी होस् वा एसपीकै छोरा रहेछ भने पनि हामी दोषी पत्ता लगाउँछौुं, आइजीले अगाडि बढेर भने।

तर उनले पनि वाचा गरेजस्तो काम गरेनन्। पन्त परिवारको आशा मर्दै गयो।

प्रहरीले हतारहतारमा प्रमाण मेटाएको पन्त परिवारलाई पटक्कै चित्त बुझेको छैन। अझ निर्मला हराएकै दिन बेलुका प्रहरीलाई सम्पर्क गर्दा दिएको जवाफले गर्दा प्रहरीमाथि पनि शंका छ। कतै प्रहरीलाई यो घटनाबारे पहिल्यै थाहा भइसकेर ढाकछोप गर्ने नियतले त्यसरी बेवास्ता त गरेको होइन , उनका मनमा प्रश्न उब्जिन्छ।

परिवारको चाहना कोही कसैलाई आग्रहपूर्वक दोषी प्रमाणित गरियोस् भन्ने छैन। बम दिदीबहिनी वा कुनै खास प्रहरी दोषी होलान् वा नहोलान् भन्नेमा पनि उति जोड छैन। तर कोही त दोषी होला, तिनलाई त ल्याउनुपर्छ भन्नेमा जोड छ। अरु पनि धेरै निर्मलाले न्याय पाउनुपर्छ भनेर लडेका छन्। उनीहरुलाई विश्वास दिलाएर प्रहरीले यो हो दोषी भन्न सकोस्। चाहना त्यति होु, आमाले भनिन्, कसैलाई झुन्ड्याएर मार त मैले भनेको छैन। जसको घरबाट छोरी हराई, उसैलाई छाडिदिएपछि त दोषी को हो तरु कसैले नमारेर छोरी मरेकी त होइन नि ।

उनले रेडियोमा पनि सुनेकी थिइन्– हजुरको छोरीको हत्यारा पत्ता नलागुञ्जेल बम दिदीबहिनीलाई छोड्दैनौं। पहिलो शंका नै त्यही घर हो। तर छाडिदिए। ुयो नै मेरी छोरीलाई न्याय नदिलाउने कदम हो भन्ने लाग्छु, आमाले भनिन्।

सबैले दोषी खोज्छौं भने। तर खोजेनन्। अब खोज्दैनन् भन्ने लागेपछि काठमाडौं आउनुपर्‍योु, आमाले भनिन्।

काठमाडौं आइपुगेपछि पनि यहाँ न्यायको लागि कति लड्नुपर्ने हो भन्ने अनुमान गर्न सकेका छैनन्। न्याय नपाई नफर्किने बताउँछन्। ुयहीँ आएपछि त न्याय पाइन्छ कि भन्ने आशा छु, उनले भनिन्, ुन्याय नपाई त फर्केर पनि के गर्नु

हुन त मिलेसम्म प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेट्ने योजना छ, पन्त परिवारको। तर कसैसँग ठूलो चाहना छैन। सत्यतथ्य बुझेर न्याय दिलाइदिनुस् भन्न चाहन्छौुं, उनले भनिन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले पनि चित्त दुखेको रहेछ, पन्त परिवारको। कहिले मेयरको घरमा लास राखियो, कहिले कञ्चनपुरवासी झुटो बोल्छन् भन्नेजस्ता कुरा गर्नुहुन्छ रे। जसको हातमा कानुन छ, उहाँले नै सत्यतथ्य नबुझी बोलिदिनुहुन्छ भने हामीले कसको आशा गर्नेु, आमा भन्छिन्।

 

प्रतिक्रिया दिनुहोस्