राजपामा एकल अध्यक्षीय अभ्यास सुरु, नेताकार्यकर्ताले जलाए राजेन्द्र महतोको पुत्ला



जनकपुरधाम : अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र एकल अध्यक्षीय अभ्यास सुरु गर्दै पार्टीको धनुषा जिल्ला अध्यक्षमण्डलबाट एक सदस्यलाई अवैध तरिकाले हटाएको विरोधमा जनकपुरमा महतोको पुत्ला दहन गरिएको छ । 

महतोले धनुषा अध्यक्षमण्डल सदस्य देवकृष्ण मण्डललाई शुक्रबार हटाई सो ठाउँमा महोत्तरी औरहीका ज्ञानेन्द्र झा ज्ञानुलाई नियुक्त गरेका थिए । छ पार्टी एकीकरण हुँदा केन्द्रीय तहझैं जिल्लास्तरमा समेत तत्कालीन पार्टीका जिल्ला अध्यक्ष अध्यक्षमण्डलमा रहने सहमति भएको थियो । 

जसअनुसार मण्डल तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्षका रूपमा अध्यक्षमण्डलमा सामेल भएका थिए । 

मण्डललाई जिम्मेवारीमुक्त गरेको विरोधमा शुक्रबार साँझ जनकपुरधामको जनकचोकमा महतोको पुत्ला दहन गरिएको हो ।  

तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्षका रूपमा राजपा जिल्ला अध्यक्षमण्डलमा सम्मिलित सञ्जयकुमार सिँहबाहेक तत्कालीन अन्य पाँच पार्टीका जिल्ला अध्यक्षहरू एकजुट भएर अघि बढिरहँदा संयोजक महतोले मण्डललाई जिल्ला अध्यक्षमण्डलबाट हटाएका हुन् ।

‘यो अनुचित, अवैधानिक र स्वीकार्न नसकिने निर्णय हो । यसले पार्टीभित्र एकल नेतृत्वको धङधङ्गी आरम्भ भएको छनक दिएको छ,’ मण्डलले भने, ‘आन्दोलन, निर्वाचन र संगठनका अन्य काममा सदैव सक्रियतापूर्वक तत्परता देखाउने मलाई किन जिम्मेवारीबाट हटाउनु निन्दनीय छ ।’

पार्टी विधानमा सामूहिक नेतृत्वको भावनालाई अंगीकार गर्ने पार्टीको केन्द्रीय अध्यक्षमण्डल सर्वोच्च नेतृत्व भएको र अध्यक्षमण्डलले सर्वसम्मतिका आधारमा निर्णय गर्ने व्यवस्था छ । 

तर, महतोले शुक्रबार जिल्ला अध्यक्षमण्डलबाट एकजना हटाउने र अर्को थप्नेबारे गरेको निर्णयका विषयमा केन्द्रीय अध्यक्षमण्डलमा कुनै छलफल भएको छैन । 

मण्डल अध्यक्षमण्डल सदस्य शरत्सिँह भण्डारी नेतृत्वको तत्कालीन रामसपाका भए पनि धनुषामा पछिल्ला दिनमा उनी पार्टी नेता महन्थ ठाकुरनिकट हुँदै गएकाले पनि भण्डारीकै सहमतिमा हटाउन लगाइएको बताइन्छ । 

नवनियुक्त ज्ञानु भण्डारीनिकटका व्यक्ति हुन् । जनकपुरमा छात्र राजनीतिमा रहेका उनी एक्कासि धनुषा जिल्ला अध्यक्षमण्डल सदस्य बनाइएका छन् । 

राजपामा अहिले अध्यक्षमण्डल संयोजक महतोका प्रमुख रणनीतिकार अध्यक्षमण्डल सदस्य शरत्सिँहलाई मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्