निर्मलाको हत्यारा बम दिदीबहिनीका माध्यमबाट मात्रै पत्ता लाग्छ : पूर्वमन्त्री बलायर



डडेलधुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा बम दिदीबहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन्।

 

पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदीबहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरे।

 

बुधबार नेपाल प्रेस युनियन डडेलधुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै नेता बलायरले बम दिदीबहिनीहरुले मात्रै हत्यारा र बलात्कारीलाई देखेको दाबीसमेत गरे। ‘हत्यारा पत्ता लगाउन कहीं पनि जानु पर्दैन्, बम दिदीबहिनीहरुका माध्यमबाट हत्यारा पत्ता लाग्छ।’, उनले भने, ‘उनीहरुले हत्यारा देखेका छन्, बलात्कारी देखेका छन्, उनीहरुबाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन।’

 

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरे।

 

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन्। त्यो घरमा रोशनी र उनकी दिदी बबिता मात्र बस्थे। छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको निर्मलाकी आमा दुर्गादेवी पन्तले समेत बताउँदै आएकी थिइन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बम दिदीबहिनीको बचाउ गर्नेगरी अभिव्यक्ति दिनुले पनि उनीहरुमाथि थप शंका लागेको उनको भनाइ थियो। पूर्वमन्त्री बलायरले सरकार नै बलात्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजिरहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्