निःशुल्क कानुनी सहायताका लागि प्रदेश सरकारको कार्यालय



वीरगन्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्यायमा परेका गरिब, दलित, मुस्लिम, महिलालगायतका समुदायलाई प्रदेश सरकारले स्थापना गरेको प्रदेश कानुनी सहायता कार्यालयबाट निःशुल्क कानुनी सेवा लिन आह्वान गरेका छन् ।

वीरगन्ज जिल्ला अदालतअगाडि प्रदेश कानुनी सहायता कार्यालयको शनिबार उद्घाटन गर्दै उनले समाजिक अन्यायमा परे पनि न्याय पाउन नसकेका वर्गका लागि कानुनी सहायता उपलब्ध गराउन प्रदेश सरकारले यो कार्यालय स्थापना गरेको बताए । 

उनले जातीय तथा लैगिंक हिंसा एवं अन्यायमा परेका गरिब तप्काले न्याय पाउन नसकेको महसुस गर्दै प्रदेश सरकारले उनीहरूको सहयोगका लागि कार्यालय स्थापना गरेको भन्दै अबउपरान्त असहाय वर्गले निःशुल्क कानुनी सहयोग पाउने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री राउतले मुख्यन्यायाधिवक्ता कार्यालय मातहत रहने प्रदेश कानुनी सहायता कार्यालयले प्रदेशका आठवटै जिल्लाबाट सेवा दिने बताए । आठवटै जिल्ला प्रदेश कानुनी सहायता कार्यालय राख्ने गरी मुख्यन्यायधिवक्ता कार्यालयले यसअघि नै आठवटै जिल्लाका लागि प्रदेश कानुनी सहायता अधिकृत नियुक्त गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्