राजधानीमा सूचनाप्रविधि एवं स्मार्ट कम्युटिङ सम्मेलन  



काठमाडौं : आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । 

कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको एक कार्यक्रमका बीच नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष इन्जिनियर डिल्लीरमण निरौलाले उद्घाट्न गरेका हुन् । 

सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताको सहभागिता रहेको एनसिआइटी कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए । सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए । 

 

एनसिआइटी कलेजका प्रिन्सिपल निराजन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासका बारेमा सम्मेलनमा छलफल गरिएको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधि विज्ञको समेत सहभागिता रहेको उनले जनाए । 

 

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । 

 

देश तथा विदेशबाट ६० भन्दा बढी ‘पेपर’ प्राप्त भएको र तीमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनमा मोबाइल कम्युटिंग, स्मार्ट कम्युटिंग, क्लाउड कम्प्युटिंग, ग्रिन कम्प्युटिंग, बिग डाटा, अप्टिकल कम्युनिकेसन्स एन्ड नेटवर्किंग, नेटवर्क म्यानेजमेन्ट एन्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइटीसिटी फर डिजास्टर म्यानेजमेन्टलगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गरेका थिए । 

 

आइटी विद्यार्थी, सरोकारवाला र सूचना तथा प्रविधिमा अनुसन्धानरत व्यक्तिका लागि यो महत्वपूर्ण प्लेटफर्म भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले बताए । उनले भने, ‘यो सम्मेलनले मुलुकको सूचना तथा प्रविधिका क्षेत्रमा  फलदायी भएको छ । यसले प्रधानमन्त्रीले अघि सारेको ‘डिजिटल नेपाल’, ‘इ–गभर्नेन्स’ र पेपरलेस प्रणालीको सपना साकार पार्न टेवा पुर्याउनेछ ।’

प्रतिक्रिया दिनुहोस्