बागलुङ दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो, पूर्वमन्त्री पनि उद्दारमा



काठमाडौं : बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।

घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा. मनोज मल्लले बताए ।

दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडौं लगिएको छ । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत गएका थिए ।

घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडों लगिएको हो ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो ।

जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिए । मृतक १४ जनाकै पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा सूचना कार्की, धनबहादुर कार्की, बसुन्धरा कार्की, माया थापा, भुमा कार्की, लक्ष्मी केसी, सीता कार्की र अनुस्का कार्की रहेका छन् ।

यस्तै, झवि कार्की, महेन्द्र कार्की, भूमि कार्की, मीना बस्नेत, तुलसी कार्की, र चालक रेशम थापा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्