नेकपाको गुट राजनीति महाधिवेशन उन्मुख



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् ।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशन उन्मुख हुन थालेको छ । महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन् । 

स्थायी समिति बैठकमा ओली गुटका नेताहरू सरकार र पार्टी अध्यक्ष शर्माको बचाउमा लागेका थिए । दाहाल गुटका नेताहरू दुवै मुद्दामा मौन बसे। नेपाल गुटका नेताहरुले भने सरकार सञ्चालन र पार्टी पद्धतिको विषयमा आलोचक भएका थिए ।

बैठकको सुरुदेखि नै सरकार सञ्चालन र पार्टी पद्धतिका विषयमा उठेका सवालमा तीनै समूह विभाजित भएका थिए । बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा सचिवालय सदस्य वामदेव गौतमले फरक मत राखेका थिए । 

गौतमले राखेको फरक मतमा वरिष्ठ नेता नेपालसहित सचिवालय सदस्य झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले मौन सहमति जनाएका थिए ।

गौतमको फरक मतमा ओलीसँग बढुदै गएको असहमतिकै कारण प्रस्तुत भएको हो भने त्यसलाई समर्थन गर्न जरुरी नभएको भन्दै योगेश भट्टराईले आपत्ति जनाए पनि समग्रमा अजेन्डा मिलेको बताएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्