दुइटा रेल किन्दै सरकार, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने



काठमाडौं: यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।  मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए ।

 

'भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, 'पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको 'स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । 'दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, 'तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’

 

रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए । 'सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्छौं,’ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’ उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुनेछ ।

 

जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ ।

 

अर्थ मन्त्रालयले आवश्यक रकम दिएपछि खरिद प्रक्रिया अघि बढाइने महासेठले बताए । उनका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५/५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।

 

पूर्व–पश्चिम रेलमार्गको निर्माण पनि तीव्र गतिले भइरहेको महासेठले बताए । उनका अनुसार काकरभिट्टा–बर्दिबास–सिमरा–बुटवल खण्ड (६ सय ३८ किमि) को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । बुटवल–गड्डाचौकी खण्डको ४ सय ९ किमिको ९५ प्रतिशत डीपीआर तयार भइसकेको छ । 'प्रत्येक खण्डमा काम तीव्र गर्न निर्देशन दिइसकिएको छ,’ उनले भने, 'काममा बाधा आउन दिन्नौं ।’

 

त्यसैगरी काठमाडौं–वीरगन्ज रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय परामर्शदाताबाट काम भइरहेको र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइसकेको मन्त्री महासेठले बताए । जयनगर–जनकपुर–बर्दिवास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजुलपुरा (५२ किमि) मा ट्रयाक वेड, संरचना, रेलको ९५ प्रतिशत काम भइसकेको रेल विभागले जनाएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्