कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता



लहान : मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महिनादेखि जारी आन्दोलन फिर्ता भएको छ । 

नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात् आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । 

आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता समितिका संयोजक अशोककुमार साहले जानकारी दिए ।  

सहमतिपत्रमा नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र आन्दोलनरतका तर्फबाट वार्ता समिति संयोजक साहले हस्ताक्षर गरेका थिए । गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठबुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्