प्रादेशिक रंगशाला वीरगन्जमै हुनुपर्ने माग



वीरगन्ज : वीरगन्जमा प्रादेशिक रंगशाला बनाउन माग गर्दै स्थानीयले मानव साङलो बनाएका छन् । वीरगन्जस्थित नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउनुपर्ने माग उठिरख्दा पनि प्रदेश सरकारले ध्यान नदिएकाले सोमबार रंगशालामा मानव साङलो बनाइ सरकारको ध्यानाकर्षण गराइएको हो ।

मुलुककै दोस्रो ठूलो नारायणी रंगशालालाई उपेक्षा गर्दै जनकपुरमा प्रादेशिक रंगशाला बनाउन प्रदेश सरकारले सिफारिस गरेपछि वीरगन्जबासी विरोधमा उत्रिएका हुन् ।

 

मानव साङ्लो बनाएर प्रदेश सरकारमाथि दबाब दिइएको नारायणी खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजाराले बताए ।

 

नारायणी रंगशालामा आवश्यक सम्पूर्ण पूर्वाधार रहिरहँदा पनि वीरगन्जलाई उपेक्षा गर्दै जनकपुरलाई महत्व दिइएको वीरगन्जबासीको निष्कर्ष छ । प्रदेश र संघीय सरकार दुबैले जनकपुरमै प्रदेशस्तरीय रंगशाला बनाउने तयारी गरेपछि वीरगन्जमा सर्वपक्षीय दबाबमुलक कार्यक्रम सुरु भएको हो ।

यस अभियानमा सम्पूर्ण राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज, बुद्धिजीविहरुको समर्थन छ । 

वीरगन्जमा प्रदेशस्तरीय रंगशाला बनाउन दबाब दिन विभिन्न चरणका विरोधात्मक कार्यक्रम तय गरिएका छन् । पहिलो चरणमा मानव साङ्लो बनाइएको हो ।

 

दोस्रो चरणमा प्रदेश सरकारसामु नारायणी रंगशालालाई नै प्रादेशिक रंगशाला बनाइनुपर्ने माग लिएर जनकपुरधाम जाने र मुख्यमन्त्री लगायतलाई भेट्ने, तेस्रो चरणमा नारायणी रंगशालाको तयारी डिपिआर लिएर प्रदेश र केन्द्र सरकारलाई दबाब दिने, चौथो चरणमा स्थानीय सबै पार्टीका नेताहरुले पार्टीको नेतृत्वमा रहेका नेतालाई पनि दबाब दिने र सामाजिक सन्जालमार्फत अभियान अगाडि बढाइने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्