जनता-जनता बीच एकता आवश्यक : निधि



सिरहा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइरालाले दिएको एकता सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । जनता–जनताबीच एकताको आवश्यक्ता रहेकोमा जोड दिँदै नेता निधिले कांग्रेसभित्र पनि एकताको आवश्यक्ता रहेको बताए । 

४३ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सिरहामा आयोजित कार्यक्रममा नेता निधिले मुलुकमा भएका प्रायः परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे ।

संविधान जारी गर्नेदेखि तीनवटै तहको निर्वाचनसम्म कांग्रेसले नेतृत्व गरेको स्मरण गर्दै निधिले पार्टीभित्र एकताको खडेरी परेकाले गत वर्ष भएका सबै निर्वाचनमा पराजय बेहोर्नुपरेको धारणा राखे । 

अव पराजयको पीडा बिर्सिएर एकताबद्ध भई पार्टी र मुलुकका हितमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई केन्द्रमा राखेर गाउँगाउँमा जान पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । 

सरकारले मधेसको हितमा काम नगर्ने प्रस्ट भइसकेको भन्दै उनले जुनसुकै बेला सरकारविरुद्ध आन्दोलन गर्ने अवस्था आउन सक्ने भएकाले तयार रहन कार्यकर्तालाई निर्देशन दिए । मधेसवादी दलमा नेतृत्व क्षमता नभएकाले पनि मधेसमा कांग्रेसको विकल्प नभएको उनको जिकिर थियो । 

कार्यक्रममा विभिन्न पार्टीआबद्ध नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्