थारु बस्तीमा माघीको रौनक, मेलादेखि महोत्सवसम्मको तयारी



कैलाली : कैलालीको थारु बस्तीमा माघीको रौनक छाएको छ । थारु समुदायका युवायुवती माघी पर्वको तयारीमा व्यस्त भएका छन् । ठाउँठाउँमा मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको तयारी हुँदैछ ।

माघीको अवसरमा कैलारी गाउँपालिकास्थित हसुलिया बजारमा थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट गरिने भएको छ । पुस ३० गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले जानकारी दिए । 

पुस पेनाल्टी सुटआउटका लागि पुस १५ देखि २५ गतेसम्म टीम दर्ता गर्न सूचना जारी गरिएको छ । प्रदर्शनीमा झुमरा, सखिया नाच, मुग्रुहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका सांस्कृतिक कार्यक्रम हुनेछन् ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवर्धन, हसुलिया बजारको प्रवर्धन र स्वस्थ्य जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश दिन कार्यक्रम गर्न लागिएको चौधरीको भनाइ छ ।

माघी पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउन कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक सांस्कृतिक प्रदर्शनी गर्नलागेको हो ।

त्यसै गरि कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेला गरिँदैछ । थारु कल्याणकारिणी सभा बेलौरी नगरसमितिको आयोजना तथा बेलौरी नगरपालिकाको सहआयोजनामा पुस २७ देखि २९ गतेसम्म बेलौरीको खुलामञ्चमा मेला हुने आयोजकले जनाएको छ ।

‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमार अभियान’ भन्ने मूल नाराकासाथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुन लागेको महोत्सव प्रचार प्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले बताए ।

कार्यक्रममा थारु जातिको परम्परागत कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैरथारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने संयोजकले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्