आज अन्तर्राष्ट्रिय टोपी दिवस



काठमाडौं: अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउने गरेका छन् । नेपाली युवायुवतीले धुमधामले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त दिनलाई टोपी दिवसका रुपमा मनाउने अभियान थालेका थिए । ती अभियानकर्ताले आज छैटौं अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहेका छन् । उनीहरुले सबैलाई नेपाली ढाका टोपी लगाएर आफ्नो पहिचान जोगाउन आग्रह पनि गरेका छन् ।

 

यसै अवसरमा अभियन्ता तथा सर्वसाधारण विहानै नेपाली ढाका टोपी लगाएर काठमाडौंको माइतीघरमा भेला भएका छन् । नेपाली युवाले आफ्नो संस्कृति भुलेर विदेशी संस्कृतिको नक्कल गरेको भन्दै उनीहरुले सबैलाई नेपालीपनको सन्देश दिन आफुहरु टोपी लगाएर उपस्थित भएको बताए ।

 

नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन् । 

 

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीले आज नेपाली टोपी लगाएर यो दिवस मनाउँदैछन् । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्