स्वर्ण पदक विजेता महिला खेलाडीहरू, जो परिवारसँग लुकेर अभ्यास गर्थे



काठमाडौं : मङ्गलवार सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद सागमा नेपालले प्राप्त गरेको ५१ मध्ये २९ स्वर्ण पदकमा महिला खेलाडीहरूले एक्लै वा समूहगत रूपमा जिताएका हुन्।

राम्रो प्रशिक्षण र नियमित अभ्यासका कारण सागमा महिला खेलाडीहरूको प्रदर्शन उत्साहजनक देखिएको राष्ट्रिय खेलकुद परिषद्का अधिकारीहरू बताउँछन्।

तर स्वर्ण जितेका कैयौँ महिला खेलाडीहरूले परिवारसँग लुकेर, समाजको घृणा खेपेर र गरिबी सहेर पनि आफू खेलकुदमा सहभागी भएको अनुभव सुनाउँछन्।

नेपालमा महिला खेलाडीहरूले परिवार र समाजको सङ्कीर्ण सोच र व्यवहारको घेराबाट उम्कन गर्नुपर्ने सङ्घर्ष अन्त्य नभएको उनीहरूले बताएका छन्।

केटीमान्छे भएर पनि के कुदेको?

नेपाली महिला खेलाडीहरूको उपलब्धिले राष्ट्रलाई नै गौरवान्वित बनाइरहेको भए पनि ती खेलाडीहरूको यहाँसम्मको यात्रामा गर्नुपरेको सङ्घर्ष सम्झँदै कतिपय खेलाडीहरू भावुक बनेका छन्।

दश हजार मिटरको दौडमा स्वर्ण पदक जित्ने प्रथम नेपाली धाविकाको कीर्तिमान बनाउन सन्तोषी श्रेष्ठ सफल भइन्।

श्रेष्ठ भन्छिन्, “मैले पहिलादेखि सुन्दै आएको कुरा यही हो – केटीमान्छे भएर नि के कुदेको?”

“त्यसो भनेको सुन्दा मलाई झन् छिटो कुद्न मन लाग्थ्यो। आमा भोलि बिहे गरी अर्काको घर जानु पर्ने मान्छे कुदेर स्वास्थ्य बिग्रन्छ र गाह्रो हुन्छ भनिरहनुहुन्छ।”

सन्तोषी श्रेष्ठ

सुरुका दिनमा परिवारबाटै कठिनाइ भोग्न परेको उनी सुनाउँछिन्। जिल्लास्तरीय हुँदै राष्ट्रिय स्तरका खेलमा सहभागी भई जित्दा पनि उनलाई परिवारको दरिलो साथ मिलेन।

“कुदेर पैसा पाइँदैन, किन कुद्छेस्?” भन्ने सुन्न बानी परिसकेको बताउने श्रेष्ठ सागमा दौडिने रहरले डेढ वर्षदेखि जागिरै त्यागेर मेहिनेत गरेको सुनाउँछिन्।

‘परिवारसँग लुकेर खेल्थेँ’

नेपालकी सञ्जु चौधरीले १३औँ सागअन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितिन्। महिलातर्फ ५९ केजी तौल समूहमा उनले श्रीलङ्काका खेलाडीलाई पराजित गरेकी थिइन्।

उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने प्रथम नेपाली महिला खेलाडी हुन्। तर उनले यो उपलब्धि त्यति सजिलै पाएकी हैनन्।

चौधरी भन्छिन्, “मलाई परिवारको साथ कत्ति पनि मिलेन। सुरुको एक वर्ष त लुकेरै खेलेँ।”

“प्रतियोगिता जितेर आएपछि अरूले सम्झाएपछि अलि सम्झनुभयो। खेल्न छुट दिनुभयो।”

“तर खेलेअनुसार खानलाउन भने कुनै पनि किसिमको सहयोग मिलेन। खेल्नको लागि आवश्यक पर्ने सबै कुरा आमाले खाजा खान दिएको पैसा जोगाएर मिलाउँथे।”

घरमा माग्यो भने खेल्न नपाइएला भन्ने पीर भएकाले पनि १३औँ सागसम्मको आफ्नो यात्रा सकसपूर्ण रहेको उनले बताइन्।

महिलालाई विद्यालयस्तरमा भारोत्तोलन खेल नखेलाइने भएकाले पनि यसबारे धेरैलाई खेलबारे जानकारी नभएको चौधरीको भनाइ छ।

१३औँ दक्षिण एशियाली खेलकुद

परिवार नै प्रेरणा

तर स्वर्ण पदक जित्ने कतिपय महिला खेलाडीहरूले परिवार नै आफ्नो प्रेरणा भएको बताएका छन्।

तेक्वान्दोमा स्वर्ण पदक जितेकी आयशा शाक्य परिवारको पूर्ण समर्थन पाएकै कारण आफूले पाएको पदक आफ्ना दुई सन्तानलाई समर्पित गरेको बताउँछिन्।

शाक्य भन्छिन्, “मलाई परिवारको राम्रो साथ मिलेको छ। माइती र घर दुवैमा।”

“मेरो श्रीमान् (दीपक बिस्ट) पनि खेलाडी भएकाले खेल्ने अवसरका लागि मैलै परिवारबाट सधैँ प्रोत्साहन पाइरहेँ।”

बीबीसीसँग कुराकानी गर्दै अर्की तेक्वान्दो खेलाडी काजल श्रेष्ठले पनि साउदी अरबमा काम गर्ने बुवाकै प्रेरणाका कारण खेल्न सकिरहेको बताइन्।

करातेकी सुनीता महर्जनले पनि बावु नाति महर्जनले सधैँ खेल्न सघाएको बताएकी छन्।

१३औँ दक्षिण एशियाली खेलकुद

उत्प्रेरणा आवश्यक

करातेका प्रशिक्षक मदन उप्रेती पुरुष खेलाडीको तुलनामा महिला खेलाडीहरू संवेदनशील हुने र प्रशिक्षण अवधिमा अनुशासित हुने हुँदा उनीहरूले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्न सक्ने अनुभव सुनाउँछन्।

“तालिममा पुरुषले भन्दा राम्रो गर्छन्। तर उनीहरूलाई कुनै कुराको तनाव भयो भने त्यो खेलमा झल्किन्छ,” उप्रेतीले बीबीसीलाई भने।

महिला खेलाडीहरूलाई उत्प्रेरणा नै आवश्यक रहेको १३ औँ सागका लागि नेपाली राष्ट्रिय टोली तयारी गर्नका लागि तोकिएका निर्देशक महेन्द्र राई बताउँछन्।

राई भन्छन्, “मैले १२ सय खेलाडीलाई २७ वटै क्याम्पमा गएर भेटेको हुँ। म सबैलाई देशको लागि खेल्नुपर्छ भन्थेँ।”

“महिलाहरूलाई कुनै पनि किसिमको तनाव आए आफूलाई सीधा सम्पर्क गर्न भन्थेँ। देशको लागि खेल्ने हो भनेर उत्साह दिन्थेँ।”

उत्प्रेरणासँगै समयमै खेलाडीहरूलाई बन्द प्रशिक्षणको अवसर उपलब्ध गराइएको कारण सीप निखारिएको र पदक जित्ने आत्मविश्वास बढेको राष्ट्रिय खेलकुद परिषद्की सदस्य तथा भलिबलका पूर्व राष्ट्रिय खेलाडी इन्दिरा निरौला बताउँछिन्।

निरौला भन्छिन्, “हाम्रा खेलाडीले देशभित्र पनि दुई-दुई वर्षको अन्तरालमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरूमा भाग लिए। उनीहरू विदेशमा गई त्यहाँका खेलाडीसँग खेले र सिके।”

“राष्ट्रिय खेलकुद परिषद्ले पनि छ महिना अघि नै सबैलाई बन्द प्रशिक्षणमा राख्यो। यी विविध कारणले पनि नेपाली खेलाडीहरूले यो उपलब्धि हासिल गरेको हो।” बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्