वीरगन्जमा मंगलबारदेखि हर्न र प्लाष्टिक प्रयोग निषेधित



 वीरगन्ज : वीरगन्ज महानगरपालिकाकाले मंगलबारदेखि हर्न र प्लास्टिक प्रयोगमा निषेध गरेको छ । वीरगन्जलाई सभ्य, समृद्ध र गौरवशाली बनाउन हर्न तथा प्लास्टिक प्रयोगमा निषेध गरेको हो  । 

घन्टाघरचोकमा आयोजित जनचेतना कार्यक्रममा निषेध अभियान सफल बनाउन सवै सरोकारवालाई अपिल गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका ३२ वटै वडाध्यक्षको उपस्थितिमा समुदाय प्रहरी साझेदारी वडा समितिको नेतृत्वमा जनचेतना फैलाउन बिहान एक घन्टा घन्टाघर क्षेत्रमा सरसफाइ अभियान चलाइएको थियो ।

कार्यक्रममा सहभागीले मेरो धर्ती, मेरो माटो, मेरै आँगन, मेरो बाटो मै सफा गर्छु, कुर्दिनँ बाटो, प्लास्टिकको प्रयोग घटाउ आफ्नै आयु बढाऔं, म चर्को हर्न वा आवाजले आफनो असभ्यता देखाउन चाहन्नलगायत जनचेतनामूलक प्लेकार्ड बोकेका थिए । अभियान सफल बनाउन महानगरपालिकाले नगरक्षेत्रमा प्रवेश गर्ने सबै नाकामा सचेतनासम्बन्धी बुकलेटसमेत वितरण गरेको छ । 

हरेक वडामा सात दिनसम्म अभियान सञ्चालन गरी सम्झाइबुझाइ गर्ने, सम्झाउँदा पनि अटेर गरे दण्डजरिवानासहितको कारबाही प्रक्रिया अगाडि बढाउने महानगरपालिका मेयर विजयकुमार सवारागीले बताए । उनले भने, ‘वीरगन्ज सफाइमा महानगरपालिकाले बर्सेनि १६ करोड रुपैयाँ खर्च गर्दे आएको छ तर सहर जस्ताको त्यस्तै छ ।’

फोहोर सहरका रूपमा वीरगन्ज नेपालमै पहिलो स्थानमा रहेकाले वीरगन्जवासीको बदनामी भइरहेको मेयर सरावगीले बताए । उनले वडाध्यक्ष र वडा सदस्यको सक्रियतामा वडास्तरबाटै यो अभियानलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।

 

यसैगरी महानगरपालिकाले प्याब्सन, एनप्याब्सन र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग छुटाछुट्टै अन्तक्र्रिया गरी अभियानलाई सफल पार्न आग्रह गरेको छ । ‘वीरगन्जलाई फोहरमुक्त गर्न जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा ५ हजार जरिवाना गर्छौं,’ मेयर सरावगीले भने, ‘त्यसपछि पनि अटेर गर्नेलाई जरिवानाको दायरा बढाउँदै एक लाखसम्म गर्नेछौं ।’ निरन्तर अटेर गरी जथाभावी फोहोर फाल्नेलाई महानगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवासुविधामा रोक लगाउने सरागवीले जानकारी दिए । 

महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापन र हर्न निषेधलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई चार थान गोप्रो क्यामरासमेत उपलब्ध गराइएको छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, महानगरपालिकाका प्रशासकीय अधिकृत भीष भुषाल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो । महानगरले प्लास्टिक झोला, गिलास, कचौरा र प्लेटमा पहिलो चरणमा प्रतिबन्ध लगाए पनि यसको विकल्प दिएकोे छैन ।

प्रतिक्रिया दिनुहोस्