कोमल वलीको विवाह यही वर्ष



काठमाडौं : राष्ट्रिय सभाकी सांसद कोमल वलीले सन् २०१९ भित्रै आफ्नो स्वयंवर हुने बताएकी छिन् । मंगलबार विवाहसम्बन्धि अनलाइन 'माइस्वयंवर डटकम'को उद्घाटन गर्दै वलीले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘स्वयंवरको खोजीमा रहेकी मान्छेले नै माइस्वयंवर डटकम सार्वजनिक गर्नुपरेको छ, अब यही वर्षभित्र वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसदले यसो भनिरहँदा उपस्थित सबैले शुभकामना दिँदै ताली बजाएका थिए ।  

सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको पनि बताएकी छिन् । हालै नोबेल पुरस्कार विजेताहरूले गरेको अनुसन्धानले हरेक १५ दिनमा एक पटक भोकै बस्दा स्वास्थ्यका दृष्टिले निकै फाइदा हुने पत्ता लगाएको बताइएपनि यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको उनको भनाइ थियो । 

उनले नेपाली हिन्दुहरू उदार भएकाले विश्वका हरेक संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको पनि बताइन् । 

माइस्वयम्बर डटकम विवाहसम्बन्धी अनलाइन पोर्टल हो ।

प्रतिक्रिया दिनुहोस्