रजस्वला हुँदा विद्यालय जाँदैनन् छात्रा 



बझाङ : महिनावारीको समयमा जिल्लाका ग्रामीण क्षेत्रका छात्रा विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । विद्यालय गए पनि उनीहरुमाथि विभेद हुने गरेको छ । शिक्षकले गृहकार्य गरेको कापी अलग्गै राखी जाँच गर्ने गरेका छन् । ‘तिमी अलि परै बस, तिमीले छोएको कापी मैले छुन मिल्दैन । कापी पनि टाढैबाट देखाऊ’, शिक्षले यस्तै भन्ने गरेका छन् । 

यसरी महिनावारि भएको बेला शिक्षकबाटै विभेद र अपहेलित हुन थालेपछि लाज र जिस्क्याउने डरले यहाँका छात्राहरु विद्यालय जान छाडेका छन् । सरले कक्षाकोठामा पढाउँदा आफूलगायत साथीलाई नजिक बस्न नदिएको र लेखेको कापी पनि जाँच नगरेको थलारा उमावि खोलीकी कक्षा ९ की छात्रा कल्पना रोकायाले बताइन् ।

 

उनले भनिन्, ‘नजानेको पनि सरबाट सिक्न पाइँदैन, मन भएर पनि कक्षा कोठामा बोल्न पाइँदैन । कथाको पुराण सुनेझैं गर्नुपर्छ । शिक्षकले पढाएको केही बोले छाउ भएको भन्दै जिस्काउने गर्छन् ।’ 

 

घरमै बसेर पढ्न नदिने र विद्यालयमा सरले आफूलाई नजिक बस्न नदिने केही बोले सतियुगका कथा सुनाउने गरेका धनकला विकले बताइन् । उनले भनिन्, ‘शिक्षकले विद्यालयमा गरेको व्यवहारले १० कक्षा पास गर्न नपाउँदै पढाइ छोड्नु पर्यो ।’ उनले दुःख पोख्दै भनिन्,‘ गाउँका सबै विद्यालय यस्तै हुन् । सहरमा गएर पढ्न सकिँदैन ।’ 

 

विद्यालयमा शिक्षकले छाउपडी प्रथालाई कायमै राखेका माणु काटिया उमावि थलाराकी कक्षा १० अध्यनरत छात्रा कमला जोशीले बताइन् । भन्छिन्, ‘शिक्षकले सबै कुरा जानेको हुन्छन्, समाज परिर्वतन गर्छन् तर उनैले विभेद गर्छन् ।’ यस विषयमा आफूले धेरै पटक यसो गर्न नहुने भनी बताए पनि उल्टै शिक्षकले हकारेको बताइन् । उनले भनिन्, ‘शिक्षकले कापी नछोएको ३ वर्ष भयो । शिक्षक  पनि गाउँकै भएकाले महिनावारी भएको थाहा हुने हुँदा कक्षाकोठामा साह्रै पीडा हुने गरेको छ ।’

 

तर शिक्षकले विद्यार्थीमाथि भेदभाव नगरेको र सबैलाई समान व्यवहार गर्ने गरेको थलारा उमावि खोलीका शिक्षक वीरबहादुर कडायतले बताए । उनले भने, ‘शिक्षकलाई लगाएको आरोप मात्र हो आफैं सफा सुग्घर भएर विद्यालय आउँदैनन्, विद्यालयमा कसैलाई भेदभाव गरिएको छैन । शिक्षकबाट व्यक्ति पिच्छे फरक व्यवहार भएको कुरा मलाई थाहा छैन ।’

 

राज्यले छाउपडी उन्मूलन गर्ने कानुन बनाए पनि जिल्लाका विभिन्न गाउँ र विद्यालय छाउमुक्त हुन सकेका छैनन् । जिल्लाका दक्षिणी भेगका थलारा क्षेत्रका विद्यालयमा कक्षा कोठामै छाउ भएका विद्यार्थीमाथि भेदभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्