यस्तो छ नेपालले टी–ट्वेन्टी विश्वकप खेल्ने सम्भावना



काठमाडौं : सन् २०२० को आइसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अस्ट्रेलियामा हुँदैछ । विश्वकपमा कुल १६ टोली सहभागी हुनेछन् । 

१६ मध्ये वरीयताका आधारमा विश्वकप खेल्ने १० टोलीको चयन यसअघि नै भइसकेको छ भने अन्य ६ टोलीका लागि विभिन्न छनोट प्रतियोगिता भइरहेका छन् । विश्वकपमा सहभागिता जनाउन पाउने मुख्य छनोट प्रतियोगिता २०१९ को अक्टोबरमा हुनेछ । 

टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा जम्मा १४ वटा टोलीले खेल्नेछन् । जसमध्ये शीर्ष ६ मा पर्ने टोलीले अस्ट्रेलियामा हुने विश्वकप खेल्ने मौका पाउनेछन् । छनोट प्रतियोगिता खेल्ने १४ टोलीमध्ये यसअघि विश्वकप खेलिसकेका जिम्बाब्वेसहित ६ टोलीको चयन भइसकेको छ भने ८ टोलीको छनोट हुन बाँकी छ । 

नेपालले २०२० को विश्वकपमा सहभागिता जनाउन छनोट प्रतियोगितासम्म पुग्नैपर्छ । नेपाल अहिले क्षेत्रीय छनोट प्रतियोगिता खेल्दैछ । नेपालले एसियाको पहिलो चरणको छनोट प्रतियोगिता पार गरिसकेको छ । 

तीन महिनाअघि मलेसियामा भएको पहिलो चरणको छनोट प्रतियोगिता जित्दै नेपाल एसिया छनोटको दोस्रो चरणमा पुगेको थियो । एसिया छनोटको दोस्रो चरण मार्चमा हुनेछ । 

दोस्रो चरणको क्षेत्रीय छनोटमा नेपाल, युएई, कतार, कुबेत, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको छनोट प्रतिस्पर्धामा शीर्ष २ भित्र पर्ने टोलीले २०१९ मा हुने टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा खेल्न पाउनेछ । 

छनोट प्रतियोगितासम्म पुग्न नेपालले एसियाको दोस्रो चरणको छनोट प्रतियोगितामा शीर्ष २ मा अटाउनै पर्छ । १४ टोलीबीच हुने छनोट प्रतियोगितामा शीर्ष ६ भित्र पर्नसके मात्र नेपालको २०२० को टी–ट्वेन्टी विश्वकप खेल्ने सपना पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्