यसरी भएको थियो प्रजातन्त्रको अपहरण



काठमाडौं : नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए ।

विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए।

काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको थापाथलीस्थित सम्मेलनमा सहभागी भएका बेला उनीहरुलाई गिरफ्तार गरिएको थियो ।

प्रधानमन्त्री बिपीले सम्मेलनको उद्घाटन गरी सम्बोधन गर्ने पालो थियो, ठीक त्यही बेला सैनिक उच्च अधिकारी समरराज कुँवर र सुरेन्द्रबहादुर शाह नेतृत्वको सेनाको टोलीले बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रलगायतलाई गिरफ्तार गरेको थियो ।

उनीहरुलाई शुरुमा सिंहदरबारमा र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो ।

यहीँ बसेर बिपीले धेरै साहित्यको रचना गरेका थिए। बिपी प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै राजालाई मन नपरेको काँग्रेस नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेत बताउछन्।

दरबारले तत्कालीन सरकारलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा काम गर्न बाधा पु¥याउँदै आएकाले राजा र प्रधानमन्त्रीबीच सम्बन्ध बिग्रँदै गएको उनी स्मरण गर्छन्। काँग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन दरबारबाट विभिन्न काण्ड घटाइएको थियो ।

यही परिस्थितिको उत्कर्षको रुपमा २०१७ साल पुस १ गतेको घटना घटेको थियो । इतिहासकार बस्नेत भन्छन्। “स्थिर प्रजातन्त्रान्त्रिक शासन व्यवस्था र विकास निर्माणको द्रुत गतिमा अघि बढेको मुलुक यस घटनापछि विपरीत दिशामा गयो । विकास निर्माण र समाज परिवर्तनका कार्य अवरुद्ध भए, वद्धि हुँदै गएको विदेशी सहयोग पनि प्रभावित भयो ।”

दलहरुमाथि प्रतिबन्धपछि अधिकांश नेताहरु कि जेलमा कि निर्वासनमा जान बाध्य हुनुप¥यो । त्यसपछि प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक हिंसात्मक–अहिंसात्मक आन्दोलन जनमत सङ्ग्रह, सत्याग्रह, भयो ।

अन्ततः काँग्रेसको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भयो र तीन दशकपछि मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको हो । – रासस

प्रतिक्रिया दिनुहोस्