हरेक गाउँ र नगरका वडामा स्वास्थ्य चाैकी बन्नेछन् : स्वास्थ्यमन्त्री यादव



जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्।

 

निःशुल्क आधारभूत स्वस्थ्य सेवाका लागि संसदमा प्रस्ताव लगिसकेको जानकारी दिँदै उनले अब नगरपालिका, गाउँपालिकादेखि हरेक वडामा स्वास्थ्य चौकी खोलिने बताए।

 

बिहीबार जनकपुर अञ्चल अस्पतालको बाहिरंग विभागको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भने,‘निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्था खोल्छौं।

 

कोठा उपलब्ध नभए भाडामा लिएर पनि खोल्छौं।’ मन्त्री यादवले प्रदेश २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्नसमेत संसदमा प्रस्ताव लागि सकेको जानकारी दिए।

 

उनले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन सोही अस्पतालमा मेडिकल कलेजसमेत खोल्नुपर्ने माग गरे । 

 

‘तत्काल तपाईँहरु जनकपुर अञ्चल अस्पतालको नाम परिर्वतन गरी प्रादेशिक अस्पताल बनाउनुस्,’ संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवले भने,‘सबैले सोचे, चाहे भने जनकपुरलाई मेडिकल हबको रुपमा विकास गर्न सकिन्छ। यसमै मेडिकल कलेज स्थापना गरेर दक्ष जनशक्ति यहीँ पनि उत्पादन गर्न सकिन्छ।’

 

एक अस्पतालको रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गर्दै उनले सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागको जनाए।

 

मन्त्री यादवले प्रदेश २ मा अब क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समिति समेत गठन भइसकेको जानकारी दिँदै अध्ययन समितिले उपयुक्त ठाउँको अध्ययन गरिरहेको जानकारी गराए।

 

मन्त्री यादवले हडबडमा ल्याइएको संविधान त्रुटिपूर्ण रहेको बताउँदै संविधान संशोधन प्रक्रियामा रहेको उल्लेख गरे। उनले जनकपुर अञ्चल अस्पतालमा ८ शैयाको आइसियु सेवाको समेत विधिवत तथा औपचारिक रुपमा उद्घाटन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्