वीरगन्जबाट एकैदिन साढे २३ सय सवारी भित्रिए



वीरगन्ज: अंग्रेजी वर्षको सुरुवातसँगै वीरगन्ज भन्सार नाकाबाट एकै दिन साढे २३ सय भारतीय नम्बर प्लेटका सवारी नेपाल भित्रिएका छन् । १० हजार भारतीय पर्यटक लिएर ती सवारी नेपाल भित्रिएका हुन् । चारचक्के गाडी र दुई चक्के मोटरसाइकलमा समेत ठूलो संख्यामा भारतीय पर्यटक अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

 

नयाँ वर्षको पहिलो दिन नै विगत वर्षमाझैं यो वर्ष पनि स्थलमार्ग भएर निकै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिए । ‘सवारीको दर्ता गर्दागर्दै झन्डै खाजा खानसमेत भ्याइएन,’ वीरगन्ज भन्सार कार्यालयको यात्रु शाखाका कम्प्युटर अपरेट लीलाबल्लभ नेपालले राजधानीसँग भने । ‘नेपालको सुन्दर दृश्यावलोकन तथा धार्मिक भ्रमणसमेत गर्न पाइने भएपछि छिमेकी मुलुकबाट आगन्तुकहरू नेपाल आएका छन्,’ उनले थपे ।

 

नयाँ वर्षको पहिलो दिन खुसी र आनन्दित हुँदा वर्ष दिनभरि हाँसी खुसी जीवनयापन हुन्छ भन्ने सामान्य मान्यता पनि छ । यसै क्रममा भारतबाट ठूलो संख्यामा पर्यटकहरू स्थलमार्ग भएर नेपाल आएको वीरगन्ज भन्सार कार्यालयको यात्रु शाखाका प्रमुख तथा सूचना अधिकारी मनीष महतोले बताए । मंगलबार मात्र २ हजार ३६० वटा भारतीय नम्बर प्लेटका सवारीबाट उनीहरू आएका हुन् ।

 

जसमा केही दिन नेपाल बस्नेगरी ७६० वटा सवारी भित्रिएका छन् । यी सवारी भित्रिँदा वीरगन्ज भन्सारमा इजाजत लिँदा केही राजस्व पनि संकलन भएको राजधानीमा खवर छ । शुल्क तिरेर इजाजत नलिई नेपालको सीमाभन्दा नजिकैका स्थलबाट मंगलबार नै इन्डियातर्फ फिर्ता जानेगरी भन्सारमा दर्ता मात्र गरेर आउने÷जाने सवारी कुल १ हजार ६ सय छन् । ‘सोमबार पनि नेपालमा नै केही दिन बस्नेगरी ७ सय सवारीमा भारतीय पर्यटक भित्रिएका थिए,’ उनले बताए ।

 

यसरी केही दिन यतै बस्नेगरी इजाजत लिएर वीरगन्ज भन्सारको बाटोबाट नेपाल प्रवेश गरेका भारतीय सवारीबाट सोमबार वीरगन्ज भन्सार कार्यालयमा ९ लाख १९ हजार राजस्व पनि संकलन भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । नयाँ वर्षको सिजन नहुँदा नेपाल प्रवेश गर्ने भारतीय सवारीबाट दैनिक २÷३ लाख राजस्व संकलन हुँदै आएकोमा नयाँ वर्षको अवसरमा नेपाल प्रवेश गरेका भारतीय सवारीबाट दैनिक राजस्व पनि बढेको वीरगन्ज भन्सार कार्यालयको लेखा शाखाका कम्प्युटर अपरेटर केदार अधिकारीले राजधानीलाई बताए ।

 

आइतबार पनि भारतीय सवारी नेपाल प्रवेश गर्दा ७ लाख ३२ हजार राजस्व संकलन भएको थियो । सोमबार अझ बड्यो । मंगलबार भने नजिकैबाट एक÷दुई दिनमा नै फर्कने अलि बढी पर्यटक आएकाले उनीहरूका सवारीमार्फत ५ लाख ८४ हजार मात्र राजस्व संकलन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्