सुन्धाराको जग्गा गायब !



काठमाडौँ : काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ ।

केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालयका सूचना अधिकारी श्रीरत्न शाक्यका अनुसार कोही मरी काम अड्कन जाँदासमेत चिताइदार, सिकर्मी, डकर्मी, लुहकर्मी, अवाल र कुस्लेले सालवसाल भत्के बिग्रेको बनाउनुपर्ने व्यवस्था लालमोहरमा उल्लेख छ । तत्कालीन समयमा यो जग्गा टुसालका गोपाल पुरीले, देउपाटनका अवाल पुनसिद्धि, कालु विष्ट, धनसिंह र डोल पाठकको जिम्मामा रहेको उल्लेख लालमोहरमा छ । सिकर्मी कनकज्योति मर्दा सट्टामा सनननी पाटनको साढे चार रोपनी जग्गाको समेत हरहिसाब यो समयमा भएको पाइएको सूचना अधिकारी शाक्य बताउनुहुन्छ ।

यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ ।

धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताउनुहुन्छ । शाहीका अनुसार काठमाडौँ महानगरपालिकाले पनि सरसफाइ गर्दै आएको थियो । गुठी संस्थानका अधिकारीले सुन्धाराको यो जग्गाका विषयसहित अतिक्रमणमा परेका गुठी जग्गाबारे नेपाल सरकारबाटै छानबिन भइरहेको जानकारी दिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्