आँखा तथा कान शिविर



राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज आयोजित एक दिने निःशुल्क ‘आँखा तथा कान शिविर’ मा ११५ जनामा मोतियाबिन्दु फेला परेको छ । धर्मी हल्फा महिला विकास क्लब तथा नेपाल नेत्रज्योति सङ्घ सगरमाथा र चौधरी आँखा अस्पताल लहान सिरहाको संयुक्त आयोजनामा सम्पन्न भएको सो शिविरमा करीब तीन सय स्थानीयवासीले सेवा लिएको बताइएको छ ।

उक्त शिविरमा आँखामा देखिएका मोतियाबिन्दुका ११५ बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने तथा शिविरमा बिरामीलाई औषधि पनि निःशुल्क प्रदान गरिएको धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए । सगरमाथा चौधरी आँखा अस्पतालका चिकित्सक राजकुमार यादवको नेतृत्वको टोलीले आँखा र कानका बिरामीलाई चेकजाँच गरेका थिए ।

शिविरमा क्लबका अध्यक्ष यादव, नेपाल निजामति आधिकारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष भागवत यादव, खेलकूद क्षेत्रबाट आयुष श्रेष्ठ, सञ्चार क्षेत्रबाट नवीनकुमार गुप्ता, सगरमाथा अपाङ्ग सङ्घका सचिव वीरेन्द्रप्रसाद चौधरी, छिन्नमस्ता गाउँपालिकाका प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण लगायतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्