किसानलाई संगठित हुन आग्रह 



कैलाली : व्यवसायिक तथा वास्तविक किसान संगठित नभएकै कारण किसानका समस्या सम्बोधन हुन नसकेको कृषिविज्ञहरूको दाबी छ । 

धनगढीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलद्वारा आयोजित एकदिने पशुपालक कृषक मापदण्ड तयारी छलफल गोष्ठीमा कृषिविज्ञहरूले सो कुरा बताएका हुन् । 

कार्यक्रममा सहभागी विभिन्न कृषकको समस्या सम्बोधन गर्दैै पशुपालक किसानले आआफ्नो क्षेत्रमा बलियो संगठन विस्तार गर्नुपर्ने बताए । क्षेत्रीय निर्देशक मदनसिंह धामीले भने, ‘किसानका समस्या सम्बोधन नहुनुको प्रमुख कारण संगठित नहुनु हो, गाई, भैंसी, बाख्रा, बंगुर, पोल्ट्री, डेरीलगायत आफू काम गर्ने क्षेत्रमा बलियो संगठन विस्तार गर्नुस् ।’

एक व्यक्तिले उठाएको समस्या सम्बोधन नहुने भन्दै वरिष्ठ पशुचिकित्सक पानसिहं ठगुन्नाले दबाब दिनकै लागि भए पनि किसानहरू संगठित हुनुपर्नेमा जोड दिए । 

अन्तरक्रियामा सहभागी नेपाल पाराभेटनरी एन्ड लाइभस्टक एसोसिएसन प्रदेश कमिटी अध्यक्ष धनबहादुर चौधरीले किसानका समस्या सम्बोधनका लागि आफूहरू निरन्तर लागिपरेको बताउँदै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरे । 

अन्तरक्रियाका सहभागी कृषकले आआफ्नो क्षेत्रका समस्या प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्