प्रदेश २ लाई आइटी हब बनाउन वीरगन्जमा मेला



नरेश सर्राफ : प्रदेश २ लाई आइटी हब बनाउन कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) पर्साले वीरगन्जमा आइटी मेलाको आयोजना गर्ने भएको छ । 

क्यानले शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरी पुस २७ गतेदेखि ३० गतेसम्म चारदिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागेको जानकारी गराएको छ ।

क्यानका जिल्ला अध्यक्ष आलोक चौरसियाले आइटी भनेको हरेक व्यक्तिसँग दिनदिनै जोडिनुपर्ने साधन भएकाले प्रदेश २ लाई नेपालकै आइटी हब बनाउने संकल्प लिएर अगाडि बढेको बताए । उनले आइटी क्षेत्रमा प्रदेश २ लाई आत्मनिर्भर बनाउने अभियानमा जुट्न सबैलाई आग्रहसमेत गरे । 

करिब ५० लाखको लागतमा वीरगन्जको नगर गृहसभामा आयोजना हुने मेलाको सम्पूर्ण तयारी भइसकेको अध्यक्ष चौरसियाले जानकारी दिए । मेलामा आइटीसम्बन्धी विभिन्न ७० वटाभन्दा बढी स्टल राखिनेछन् । काठमाडौंपछि दोस्रो स्थानका रूपमा क्यानले आइटीसम्बन्धी ठूलो मेलाको आयोजना गर्न लागेको हो । 

प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिले परिकल्पना गरेको स्मार्ट सिटीका आधारभूत पूर्वाधारलाई मध्यनजर गर्दे क्यानले आइटी मेलाको आयोजना गरेको सम्मेलनमा बताइएको छ । बच्चादेखि वृद्धसम्मका लागि आइटी मेला उपयोगी हुने आयोजकको विश्वास छ ।

मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुनेछन् । 

इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजी क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले यस मेलामार्फत प्रत्येक दिन फरक खालका जानकारी पाउन सक्ने दाबीसमेत अयोजकले गरेको छ ।

मेलामा आइटीका इन्जिनियर तथा विशेषज्ञ र संघीय सांसददेखि जनप्रतिनिधिसँग आइटीलाई अगाडि बढाउने र सफ्टवेयर विकासबारे अन्तत्र्रिmयात्मक कार्यक्रमसमेत हुनेछ ।

मुनाफाका लागि नभई आइटीसम्बन्धी जनचेतना फैलाउनका लागि आयोजना गर्न लागिएको मेलामा सहभागीले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरण अवलोकन तथा खरिदसमेत गर्न पाउने व्यवस्था मिलाइएको क्यानका उपाध्यक्ष प्रशान्त साहले बताए । करिब एक लाखभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ । पत्रकार सम्मेलनमा क्यानका उपाध्यक्ष साह, सदस्यहरू दीपक साह, सञ्जय पटेल र जीवन गुप्तालगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्