रेशम चौधरीलगायत राजबन्दीलाई रिहाइ माग



कैलाली : निलम्बित सांसद रेशम चौधरीलगायत कैलाली करागारमा रहेका राजबन्दीलाई जेलमुक्त गर्न थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले माग गरेको छ ।

कल्याणकारिणी सभा कैलालीका कार्यवाहक अध्यक्ष माधव चौधरी र थारूवान संयुक्त संघर्ष समिति कैलालीका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै रेशमलगायत अन्य राजबन्दीको रिहाइ माग गरेका हुन् । 

‘टीकापुर घटनालाई सरकारले राजनीतिक मुद्दा ठहर गर्दै रेशम चौधरीलगायत राजबन्दीमाथिको झुटा मुद्दा फिर्ता गरी ससम्मान जेलमुक्त गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । 

टीकापुर घटना संविधान निर्माणका अधिकार प्राप्तिका लागि आन्दोलन भएका थारूसम्बद्ध संघसंस्थाको धारणा रहँदै आएको छ ।

सांसद रेशमलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने काम स्वागतयोग्य रहेको भन्दै ढिलै भए पनि कैलाली क्षेत्र नंं. १ का जनमतको कदर भएको र सरकारले आफ्नो दायित्व पूरा गरेको महसुस भएको पनि विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै शपथग्रहणलगत्तै राज्यले पुनः सांसद चौधरीलाई जेलभित्र पठाउने कार्यले दुःखी बनाएको समेत विज्ञप्तिमा लेखिएको छ । राज्यको पहिलो सकारात्मक कदमका लागि सरकार, सभामुख र संसद् सचिवालयलाई धन्यवाद दिँदै टीकापुर मुद्दा राजनीतिक रूपमा समाधान हुने कुरामा आशावादी रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्