चालक र यात्रु नै दुर्घटनाका कारक



काठमाडौं : निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुपर्यो । बिहीबार बिहान १० बजेको घटना हो यो ।

विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना खण्डमा आकाशे पुल हुँदाहुँदै पैदल यात्रुले पुलमुनिबाटै बाटो काट्न खोज्दा बा. ५ ख ४३५२ नम्बरको बसका चालकलाई एक्कासि सवारीसाधन नियन्त्रण गर्न हम्मेहम्मे नै पर्यो ।

खाली सडक पाएपछि चालकले गति सीमित गर्दैनन्, जसले गर्दा दुर्घटना निम्तिने गर्दछ । त्यो बसको पछिल्तिर गुडिरहेका अन्य सवारीसाधनहरूलाई उक्साउने गरी ‘सक्छस् भने ओभरटेक गर, सक्दैनस् भने रिस नगर’ भनेरै लेखिएको थियो । अन्य गाडीलाई ओभरटेक गर्दै गुडिरहेको त्यो बसले सानेपा पुग्दा एउटा मोटरसाइकलका कारण पुनः राम्रैसँग ब्रेक लगाउनुपर्यो ।

उपत्यकामा सवारी दुर्घटना बढ्दै गएको छ । यसको मुख्य जिम्मेवार पक्ष भनेकै चालक र यात्रु हुन् । उपत्यकामा ४५ वर्षदेखि सवारी चलाउँदै आउनुभएका ७६ वर्षे चालक होमबहादुर लुङ्गेली मगरले भने, ‘दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै हो । नयाँ चालक छन् । नयाँ गाडी पाएपछि जथाभावी हुइँक्याउँछन् । सडकको अवस्था हेर्दैनन् । अनि गाडी नियन्त्रण गर्न सक्दैनन् । दुर्घटना हुन्छ ।’

नयाँ सडकको प्रवेशद्वारदेखि जुद्ध सालिकसम्म छ स्थानमा जेब्रा क्रसिङ छ तर पाइलैपिच्छे बाटो काट्नेहरू देख्न पाइन्छ । सभ्य र पढालेखाहरू पनि जथाभावी सडक वारपार गर्दै गरेका हुन्छन् । वीर अस्पताल, भोटाहिटी, रत्नपार्क आदि स्थानमा आकाशे पुल छन् तर त्यसको मुन्तिरबाटै बाटो काटिरहेका बगे्रल्ती फेला पर्छन् ।

भोटाहिटीबाट निस्किएर रत्नपार्कतर्फ हतारिएर जान लाग्नुभएका नयाँ बानेश्वरका जीवन मण्डलले आकाशे पुलबाट नभई पुल तलबाट हिँडेर सडक पार गर्दै थिए ।

केही वर्षअघिसम्म ट्राफिक प्रहरीले सडक दुर्घटनालाई कमी गर्न जथाभावी सडक पार गर्ने यात्रुमाथि जरिवाना गर्ने अभियान थालेको थियो तर यो कार्य लोकप्रिय बन्न सकेन र प्रहरीले रोक्नु पर्यो । रत्नपार्कदेखि बागबजार जानका लागि आकाशे पुल छ तर पुलमुनिबाट हिँड्नेहरूलाई देखेर त्यहाँ खटिएका ट्राफिक प्रहरी मूकदर्शक मात्र बन्ने गरेका छन् ।

सोही स्थानमा खटिनुभएका महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका ट्राफिक प्रहरी वैकुण्ठ पोखरेलले आकाशे पुल हुँदाहुँदै पनि तलबाट सडक पार गर्नेहरू देख्दा दिक्क लाग्ने गरेको बताउँदै थपे, ‘कति हेरिरहने ? यिनैले गर्दा सडक दुर्घटना हुन्छ ।’

कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ फराकिलो गरिएपछि त्यहाँ सवारीसाधनको चाप निकै बढ्न पुगेको छ । फराकिलो सडकका कारण सवारीसाधनको वेग पनि निकै हुने गरेको छ । कमै स्थानमा मात्र आकाशे पुल छन् भने जेब्राक्रस पनि कम स्थानमा छन् ।

त्यसैले यात्रुहरूले जथाभावी सडक पार गर्नुपर्ने बाध्यता छ । एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरूको निकै भीड हुने गरेको छ तर वारितर्फका मानिस सो कार्यालयमा जान एकान्तकुना चोक वा महालक्ष्मीस्थानसम्म आइपुग्नुपर्दछ ।

एक किलोमिटरको दूरीमा जेब्राक्रस नहुँदा सेवाग्राहीहरूले सडकको बीचमा राखिएका डिभाइडर नाघेर जथाभावी सडक पार गर्नुपर्ने अवस्था छ र यसले गर्दा त्यस स्थानमा सबैभन्दा बढी सडक दुर्घटना हुने गरेको छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्