ट्रानमेरविरुद्ध टोटेनहमको सात गोल, लोरेन्टेले गरे ह्याट्रिक



काठमाडौं: प्रिमियर लिग क्लब टोटेनहम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । एफए कपको तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको ट्रानमेर रोभर्समाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो ।

 

ट्रानमेरको घरेलु मैदानमा भएको खेलमा टोटेनहमको फराकिलो जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । ह्युङ मिन सन र ह्यारी केनले समान १ गोल गरे ।

 

एकपक्षीय बनेको खेलमा टोटेनहमले ४०औं मिनेटमा सर्ज औरियरको गोलबाट पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । त्यसपछि दृश्यमा फर्नान्डो लोरेन्टे छाए । उनले ४८औं मिनेटमा पहिलो गोल गरे ।

 

औरियरले ५५औं मिनेटमा गोल गरेपछि टोटेनहमले खेलमा ३–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४–० ले अघि बढ्यो ।

 

७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । ८२औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले ७–० को फराकिलो जित निकाल्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्