‘ए’ डिभिजन लिगमा आजबाट अन्तिम चरण



काठमाडौं: सहिद स्मारक ‘ए’ लिगमा अन्तिम चरणको खेल आज हुदैछ । शनिबार हुने दुबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको फुटबल मैदानमा हुनेछ । पहिलो खेल जावलाखेल युथ र च्यासल युथ क्लबबीच हुनेछ ।

 

जावलाखेल १२ अंकका साथ दशौं स्थानमा छ भने १५ अंक जोडेको च्यासल युथ आठौं स्थानमा छ । रेलिगेशन क्षेत्रभन्दा ५ अंकले माथि रहेकाले यी दुई टोलीबीचको नतिजाले अंकतालिकाको मध्यक्रममा केही परवर्तन हुनुबाहेक अन्य केही महत्व राख्दैन ।

 

दोस्रो खेलमा सरस्वती युथ क्लबले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ । १३ अंकका साथ सरस्वती नवौं स्थानमा छ भने पुलिस क्लब १८ अंकका साथ छैटौं स्थानमा छ । पुलिसले जिते एक स्थान माथि पाँचौं स्थानमा उक्लन्छ । सरस्वतीले जिते पनि एक स्थान माथि उक्लिएर आठौं स्थानमा पुग्नेछ । तर त्यसका लागि अघिल्लो खेलमा च्यासलले अंक गुमाउनु पर्नेछ ।

 

अहिलेसम्म सबै खेल जितेको मनाङले दुई खेलअघि नै उपाधि जितिसकेको छ भने संकटाले पनि दोस्रो स्थान पक्का गरिसकेको छ । त्रिभुवन आर्मी र थ्री स्टारबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा जारी छ भने मछिन्द्र र न्युरोड टिम (एनआरटी) पनि रेलिगेशन क्षेत्रबाट माथि उक्लने कोशिसमा छन् । मछिन्द्रको ७ अंक छ भने एनआरटीको ५ अंक छ । समान ९ अंक रहेका ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लब क्रमश ११ र १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्