भित्र वकिलहरुको चर्काचर्की बाहिर महिलाहरुको घुर्की



इनरुवा : जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको थुनछेक बहस आज शुरु हुँदैछ । जिल्ला अदालत सुनसरीमा शुरु हुने थुनछेक बहसमा महिलाहरुको दोहोरो झडप हुने संभावना देखेर सुरक्षा व्यवस्थालाई प्रहरीले कडा पारेको छ ।

गत शुक्रबार बयानका लागि अदालत ल्याईएका गिरी अदालत परसरमा पुग्दा उनको बिरोध र समर्थनमा उत्रिएपछि प्रहरीले सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । दुवैतिर उपस्थिति ज्यादा हुँदा महिला प्रहरी अभावमा सुरक्षा व्यवस्थापन गर्न हम्मे हम्मे परेको हो ।

गिरी निरअपराध भएको भन्दै पीडित महिलाको बिरुद्ध आक्रोश पोख्दै महिलाहरुको समूह गिरीको पक्षमा नाराबाजी गर्न थालेपछि गिरीका बिरुद्धमा महिलाहरुको अर्को समूह नाराबाजी गर्दै उफ्रेको दृश्य निकै रोमात्तचकारी देखिएको थियो । एकतर्फ गिरीको पक्षमा देखिएको महिलाहरुको भिड र अर्कातर्फ उनका बिरुद्धमा देखिएका महिलाहरुको प्रदर्शन हेर्दा उपस्थित मानिसहरु रनभुल्लमा देखिन्थे ।

उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान शुरु भएको छ । त्यही मुद्धामा आज थुनछेक बहस सुरु हुन लागेको हो ।

सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया शुरु भएको हो । सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ ९ङ० बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।

अभियोग प्रमाणित भए उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३९ङ० अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

गत शुक्रबारको स्वतःस्र्फूतरूपमा सयौँको सङ्ख्यामा आएका महिला अधिकारकर्मीसहितका महिलाहरुले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि सिद्धबाबामाथि कारबाहीको माग गरेका थिए । उनीहरुले सिद्धबाबालाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, ढोँगी बाबा चाहिँदैनलगायतका नारा लगाएका थिए ।

यता सिद्धबाबाका समर्थकहरुले अदालतअगाडि भेला भएर उनको जय जयकार गर्नुका साथै भजन कीर्तन र हनुमान चालिसालगायतका पाठ गर्दै रिहाइको कामना गरेका छन् । थुनछेक बहसका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया अघि बढेको हो । उनको मुद्दा गोला प्रथामार्फत सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्