‘चर्को कर असुल्ने तर गरिबलाई कम्बल नदिने मेयर बौलाएका त होइनन् ?’



जनकपुरधाम : जनकपुर उपमहानगरपालिकासहितका स्थानीय तहले गरेको धेरै प्रतिशत करवृद्धि अनुचित रहेको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताएका छन् । उनले हजार प्रतिशत कर बढाउने स्थानीय तहका पदाधिकारी टोली बौलाएकोे टिप्पणी गरे ।

धनुषा चेम्बर अफ कमर्सको कम्बल वितरण कार्यक्रममा मन्त्री साहले भने, ‘मलाई न मिठो लागेको छ । हजार प्रतिशत कर बढाएर यहाँका मेयर, उपमेयरसहितको समूह कतै पागल त भएको होइन ?’

एकातिर न्यानो लुगा अभावमा जनता चिसोले कठ्याग्रिंँदै मृत्युवरण गरिरहेको र अर्कातिर तिनै जनतासँग करवृद्धि र करको दायरा बढाउने नाममा स्थानीय तहले मनोमानी रकम असुल गरिरहेको तर जनतालाई राहत नदिएको सन्दर्भमा मन्त्री साहको यस्तो प्रतिक्रिया आएको हो ।

मन्त्री साहले यसअघि पनि जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै आएका छन् ।

धनुषा चेम्बर अफ कमर्सले १०१ जना विपन्न तथा असहाय वर्गलाई गरेकोे कम्बल वितरणलाई सामाजिक र आर्थिक दृष्टिले उच्च कामको संज्ञा दिँदै मन्त्री साहले जाडोको कहरका कारण कुनै पनि व्यक्तिको ज्यान जान नदिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘कतै कोही समस्यामा छन् भने हामीलाई खबर गर्नुस्, हामी कम्बल र दाउराको व्यवस्था गर्नेछौं ।’ उनले चिसोको मारमा परेकाहरूलाई राहत दिन प्रदेश सरकार २४ घन्टा नै चनाखो रहने प्रस्ट्याए ।

सरकार शासक नभएर सेवक भएको भन्दै मन्त्री साहले आफूहरूलाई आमाबुवाले नभएर जनताले आफ्नो प्रतिनिधि बनाएको र आफूहरू जनताप्रति उत्तरदायी रहेको बताए । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाशचन्द्र साहले चेम्बरलाई इमान्दारीका व्यापारीको हकहितमा लाग्न आग्रह गरे ।

कार्यक्रममा कम्बल लिनका लागि जनकपुरलगायत विभिन्न ठाउँका गरिब तथा असहायको भिड नै लागेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका मनोज साह, पूर्वमेयर बजरंग साह, सरोज मिश्रले स्थानीय व्यापारीको हकहित प्रवद्र्धनमा चेम्बरको भूमिकाबारे आआफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्