तीस हजारमै नक्कली स्मार्ट लाईसेन्स, ६ जनाको गिरोह नै पक्राउ



काठमाडौं : नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सरकारी कार्यालयका कर्मचारीहरुको नक्कली परिचयपत्र बनाउने ६ जना पक्राउ परेका छन् ।

मंगलबार महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली परिचयपत्र बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सर्लाही स्थायी ठेगाना भई जडीबुटी बस्दै आएका दिपक ब्लोन, सर्लाही स्थायी ठेगाना भई कुलेश्वर बस्दै आएका शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाडौं चुच्चेपाटी बस्दै आएका अनन्ता गुरुङ, बारा स्थायी घर भई अनामनगर बस्दै आएका अशोक कार्की, सिराहा घर भई कोटेश्वर बस्दै आएका मोहन यादब र काठमाडौं लाजिम्पाट बस्दै आएका कुमार तण्डुकार रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पुतलीसडकबाट ट्राफिक प्रहरीले दिपक ब्लोनको साथमा रहेको ०२०६००४४३३९७ नम्बरको BFG बर्गको नक्कली स्मार्ट लाइसेन्स फेला पारेपछि उनलाई पक्राउ गरी सोधपुछ अगाडि बढाइएको थियो । ब्लोनले बल्खुमा रहेको शुभाष भन्ने बुद्धी बहादुर रोक्कालाई ३०,००० (तीस हजार) तिरेर नक्कली स्मार्ट लाइसेन्स किनेको बताएका थिए । उनीहरुले आशिष स्टुडियोबाट डिजाइनिङ गरी काठमाडौंको न्यूरोडमा रहेको Photo Concern प्रा.लिबाट नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको खुलेको थियो ।

उनीहरुले फोटो कन्सर्न प्रा.लिबाट विभिन्न व्यक्तिहरुको सरकारी लिखतहरु डिजानिङ गरी प्रिन्ट गरी बिक्रीवितरण गर्ने गरेको एसएसपी थापाले बताए ।

प्रहरीले दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स,विभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र थान(४, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधारकार्ड, फोटो कन्सर्न प्रा.लि. न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, CPU, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर बदामद गरेको छ ।

यसैगरी, अनुसन्धानको क्रममा उक्त प्रा.लि. का फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरी लिखत सम्बन्धी कसूरमो लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्