…अधुरो इच्छा



हो सहेश, यो निर्णय हाम्रो प्रेमको लागि लिँदै छु । म छोरी भएको नाताले बुबा ममि (परिवार)का लागि लिँदै छु । शरिर टाढा भएपनि मन जहिल्यै तिमीसँगै हुने छ । आज, भोलि, पर्सि जहिले भएपनि यो कदम हामीले चाल्नै पथ्र्यो । कारण हाम्रो यस्तो चोखो मायालाई समाजले स्वीकार गर्दैन ।

तिमी पनि एक पटक सोच त सहेश, हामीले हाम्रो मायालाई के नाम दिएर समाजमा जिउने ? यो हाम्रो चोखो प्रेम भएपनि समाजले यसलाई पाप भन्छन् । अनि हामी जिन्दगीभर पापी बनेर कसरी बाच्ने ? हामी त हाम्रो प्रेमलाई सम्झिएर बाचौंला । अनि हाम्रो सन्तान ? के हामीले गरेको गल्ति हाम्रा सन्तानले पनि भोग्ने ?

५ वर्ष पहिला काठमाडौंको काँडाघारीमा तिमीलाई पहिलो चोटि देखेको थिए । अग्लो, सिलिम ज्यान, चौडा छाती आफ्नो ज्यानलाई फिट राख्ने भएर पनि होला है । कति सुहाएको थियो है त्यो कालो टिर्सट र कालै ट्राउजरमा तिमीलाई ।

फिल्मको हिरो जसरी नै तिमी मेरो अगाडि उभिएका थियौं । तिम्रो त्यो नशालु आँखाले मलाई हेरिरहँदा म लाजले गलिसकेकी थिएँ । हाम्रो त्यो पहिलो भेट अविस्मरणीय दिन थियो है । तिम्रो घर काडाँघारी मेरो खोटाङ भएपनि हाम्रो भेट पहिलो चोटि भएको होइन् । म सानीमा–ममिको बहिनी) को घर जादाँ कहिलेकाहि देखिरहेको हुन्थे । तिमीले पनि देख्थ्यौं नै । तर, पनि आजको जुन हेराई छ नि, सहेश त्यो विलकुलै फरक छ । पहिला पहिलाको हेराइ भन्दा त्यो दिनको हेराई बिल्कुलै बिल्कुलै फरक छ । थाहा छ सहेश त्यो रात त म निदाउन पनि सकिन नि । किनकी मेरो हिरो हौं तिमी । तिम्रो र मेरो बारे सपनाको संसार बनाइसकेको थिए । तर, त्यो कतिको सफल हुन्छ हुँदैन त्यो कुराले भने मन पोरिरहेको थियो ।

यो मेरो उमेरको दोष हो कि प्रेमको ? यो भन्दा अगाडिका दिनहरुमा महिले कहिले पनि यस्तो छटपटि महशुस गरेको थिइन् । त्यो पनि कुनै केटालाई आफ्नो ठानेर ।

तिम्रो पहिला वाक्य ‘हेलो…हेलो को बोल्नु भयो? म सहेश बोल्दै छु ।’

ओहो ! तिमी मान्छे जति सुन्दर थियौं नि तिम्रो बोली त्यत्तिकै सुन्दर ।

‘म पिया ।’ कस्तो अप्ठ्यारो लागेको थियो, आफ्नो नाम भन्न पनि । आफ्नो नाम भन्न लाज नलाग्ने म खै किन हो थाहा नै छैन त्यतिखेर के भयो मलाई । सबैलाई यस्तै हुन्छकी मलाई मात्र हो ?

साँच्चै सहेश, हामी जति जति धेरै कुराकानी गछौं नि या भनौं जति धेरै तिमीलाई जान्दै गइरहेको थिए नि । म त्यति त्यति नजिक हुँदै गइरहेको थिए ।

सहेश, तिम्रो यादले यति धेरै सताउथ्यो नि । कसरी बयान गरु म । कति नै भएको छ र हामी नजिक भएको तर पनि तिमी बिना बाच्नै नसक्ने भइसकेको थिए । थाहा छैन किन यस्तो आदत लाग्यो । के जादु छ तिमीमा त्यसरी म तिमीप्रति आकर्षित हुँदै गइराखेको थिएँ ।

जति जति हाम्रो डेटिङ बाक्लिदै जान्थ्यो नि उति उति म खुसीले पागल हुन्थे । तिमीसँग बिताएका हरेक पल मेरा लागि बहुमूल्य थियो । यो हाम्रो कञ्चल र पवित्र मायामा कसैको पनि नजर नलागोस् । यो मेरो मात्र चाहना हैन साहेद तिमी पनि त्यस्तै त सोच्थ्यौ होला र त तिमी मेरो सब थोक भयौं ।

तिमी भन्थ्यौ नि, ‘अब यो शरीरको हक जमाउने त म मात्र हो ।’ तिमी मात्र हैन म पनि त त्यहि सोच्थे नि ।

तिमीले भनेको थियौ नि, मेरो काखमा लुटपुटिदै, ‘तिमी सारै आकर्षक छौ मेरो जानु । तिम्रो नराम्रो भनेको केही छैन । तिमी जस्तो जीवनसाथी मैले पाउनु भनेको म आफुले आफुलाई भाग्यमानी ठान्छु ।’

कहिले काहि म रिसाउँदा तिमीले फकाउथ्यौ त्यो तिम्रो फकाउने शैलीदेखि म त फिदा थिए । त्यति मात्र हैन फकाउँदै जब तिमीले अँगालोमा लिन्थ्यौ । थाहा छैन, जबजब म तिम्रो अँगालोमा हुन्छु, आफूले कहिल्यै नपाएको न्यानो माया पाउँछु । यसरी नै सधैँ तिम्रो अँगालोमा बाँधिरहन पाए जस्तो सुकै पीडा सहन तयार हुन्छु ।

हामी कति छिटो थियौं है । हामीले हाम्रो बच्चाको नाम पनि राख्नसम्म भ्याएका थियौ, सुसभान र सुप्रिया ।

पशुपति, स्वयम्भु, गोदावरी, साँगा, ह्वाइट गुम्बा, लाकुरी भञ्ज्याङ, पोखरा, सोलु, मुस्ताङमा हामीले बिताएका ति रमाइला पलहरु । त्यतिमात्र हैन हामीले खाएका विभिन्न स्वादिष्ट परिकार, हामी दुईसँगै बसेर खिचेका फोटोहरु, तिमीले दिएका गिफ्ट आजीवन मलाई तिम्रो सामिप्यमा राख्न मदत गरिरहनेछ ।

पिया, तिम्रो त सहेश दादा हो । तिमीहरु दाजुबहिनी हौ । मेरोे जेठाजुको छोरा । मैले तिमीहरुको बारे के–के सुनेको छु । के सहि हो ? मैले सुनेको सहि हो भने त्यो बिल्कुलै गलत गर्दै छौं ।

एक्कासी सानीमाले भन्नुभएको कुराले म तर्सिए । एक्कासि तिखो सुइरोले मुटुभित्र घोचे जस्तो भयो । आगोले पोले जस्तै छाती भतभत पोल्न थाल्यो । सम्मालिन खोज्दाखोज्दै पनि सम्मालिन सकिन । अक्कन बक्क भए, मानौँ बोल्नलाई केही शब्दहरू नै छैन जस्तो । निशब्द भए ।
किन आज नै सानीमाले यस्तो भन्नु भा होला? आँखाबाट आँशुका भेल जसो तसो थामिराखेको थिए । भने, त्यस्तो केहि हैन सानीमा हामी दाजु बहिनीकै नाताले भेट्छौ, बोल्छौ । हामीबीच त्यस्तो केहि सम्बन्ध छैन ।

यति भनेर म आफ्नो रुममा छिरे ।

जसलाई मनबाटै मेरो सबै थोक मानिसकें । जसका लागि व्रत बस्छु । जसलाई आफ्नो संसार मानिसके यस्तो अवस्थामा किन र के हुन गयो आज ।

सहेश, तिम्रै नामको सिन्दूर, चुरा, पोते लगाउने मन थियो । तर, आज के भयो यस्तो । यी सब हाम्रा प्रारम्भिक दिनदेखिका आजसम्मको क्षण सबै एकएक गरेर आँखाअगाडि घुम्न थाले ।
सहेस मेरो दाइ रे विवाह गर्न हुँदैन रे । उ मेरो श्रीमान हुन सक्दैन रे । बिहानसम्म ‘मेरो प्रिय’,‘मेरो जानु’ भनेको सहेशले के अब बहिनी र दाइ भनेर सम्बोधन गर्न सक्छौं होला त ?

कसरी भनु म तिमीलाई सानीमाले भनेका कुरा ? कहाँबाट शुरु गरौं ? तिमीलाई त थाहा थियो होला नि यति नजिकको नाता छ भनेर किन पहिला नै भनेनऔं । किन सानिमाले पहिले भन्नु भएन ? यति धेरै प्रश्नहरु मनमा उब्जियो कि म बयान गर्न नै सक्दिन । न खान मन छ । न निन्द्रा लाग्छ । आसुका धारा रोकिएका छैन । फोन नउठाएको ३ दिन भयो । छिनछिनमा कुरा गर्ने हामी यतिका दिनसम्म नबोलि बस्दा पागल जस्तै भए । तिम्रो मिस्कल म्यासेज सबै हेरेको छु तर केगर्ने ? तिम्रो फोन उठाउन म्यासेज रिप्लाई गर्न त मन छ तर के भनेर सम्बोधन गरु म तिमीलाई ? कसरी सुनाउ यी सब कुरा ? कहाँबाट शुरु गरु ?

तर के गर्नु एक दिन न एक दिन तिमीलाई थाहा त दिनै पर्छ । कति दिन भागेर बस्नु ? जहिले भएपनि भन्नै पर्छ मैले। यो कुरालाई हामीले नकार्न कहाँ सक्छौं र ? हुने हार दैव नटार भने जस्तै हो । अन्ततः धेरै हिम्मत गरेर तिमीलाई यो कुरा मैले सुनाएको हो ।

जानु, प्रेममा सबै थोक जायज छ । प्रेम अन्धो हुन्छ, त्यसैले त भनेका हुन् नि ! बरु म आमाबाबु, इष्टमित्र केही भन्दिनँ । मलाई तिमी मात्र भए पुग्छ । मलाई यो समाजसँग केही लेनदेन छैन । कसलाई चाहिँ भन्न बाँकी राखेको छ र यो समाजले । म तिम्रो लागि जे पनि गर्न तयार छु ।’

हुन त मलाई पनि यस्तो नलागेको होइन । तिमीले यस्तो सोच्नु स्वभाविक पनि हो। मैले पनि धरै चोटि यस्ता कुरा सोचे । आफ्नो ज्यान दिनसम्म तयार भए तर के गर्ने केहि गर्दा पनि उपाय लागेन ।

हाम्रो सम्बन्धमा बज्रपात पर्यो । हो, घर र समाजमा दाजु बहिनी भएता पनि हामी जे थियौँ त्यो हाम्रो लागि अरूभन्दा अलग थियो र हामी यसैमा खुशी थियौँ । तर अब हामीले बाटो मोड्नु पर्छ । त्यसैले मैले यो सिन्दूर, जन्ती र बाजाको विश्वास गरिन र म विवाह नगरि एक्लै जीवन बाच्ने निर्णय गरे । म विवाह नगरी आमा बन्न पनि तयार छु । अरूले मलाई आधुनिकताको भूत चढेको भन्लान् तर यो भूत नभएर वास्तवमा नै म आधुनिक छु । यसैले म अब विवाह गर्न चाहँदिनँ ।
तर जुन कुरा गर्नदेखि घृणा लागेर आउँछ, त्यही कुरा बारम्बार सुनिरहनुपर्दा वाक्क लाग्छ मलाई । कहिलेकाहीँ त भनिदिन मन लाग्छ सबैलाई, ‘तिम्रो हुनेवाला ज्वाइँ मैले पहिले नै खोजिसकेकी छु’ भनेर, तर विवश छु ।

हुँदाहुँदा आज त सानिमाकोमा जादाँ सहेशलाई नै भन्नुभएछ मम्मीले ‘पियालाई विहे गर्न मनाउनु प¥यो भनेर ।’ बिचरा सहेशले भनोस् पनि के ?

‘पिया, हेर त विदेश बस्ने केटाको कुरा आएको छ । काठमाडौंमा नै बस्ने परिवार पनि सानो । मलाई हेर्दा ठीकै लागेको छ । आज यस केटाकी आमालाई पनि भेटेर आयौँ । हामीले भनेको मान्नै पर्छ तिमीले। नभए समाजमा हाम्रो इज्जत जान्छ । मम्मीले मेरो अगाडि तीनओटा फोटोहरू राखेर भित्र जानुभयो ।

अहिल्यै सलाई कोरेर ती सबै फोटोहरू जलाई दिऊँ जस्तो लागेको थियो ।

धेरै चोटि भाग्ने प्लान त बनाएको थिए तर के गर्ने ? सोचे जस्तो सजिलो कहाँ छ र ?

बाजाका धुनले मेरो कान फुट्ला जस्तो भइराखेको छ । घरका सबैका अनुहारमा खुशी छाएको छ । तर म छैन, यो मेरो अगाडि उभिएको मान्छेलाई म लोग्ने कदापी मान्न तयार छैन ।

मेरो बिहे त आजभन्दा धेरै अगाडि भइसकेको थियो । मेरो मनको राजकुमारसँग ।

यसले मेरो सिउँदोमा सिन्दूर हाल्दा टाउकामा झुसिलकीरा हिँडेको जस्तो चिलाउन पो थाल्यो बा । अझ कत्ति न लोग्ने भएको फुर्ती झारेर फोटो खिच्नलाई मसँगै टाँसिन आउँछ पो । होइन, यो जस्तो नराम्रो मान्छे सायद मैले कोही देखेको छैन । के देखे होलान् मेरा बाबुआमाले पनि ।

झट्ट सहेशलाई सम्झेँ । बिचरा एउटा कुनामा गएर रुँदै होला मेरो राजा अहिले । सहेशको एक छेउमा पनि यसलाई राख्न सुहाउँदैन । बाबुआमा रुन थाले । मलाई रिस उठ्यो ‘गर्दिनँ भन्दाभन्दै मर्छु, बाआमा नभन बिहे नगरे त भनेर धम्कि दिएर बिहे गरिदियौ । अहिले चाहिँ किन रुनु मनमनै भुतभुताए ।

सहेशलाई सम्झेँ, हाम्रा सुसभान र सुप्रियालाई सम्झेँ । डाँको छोडेर रुन मन लाग्यो । मनमा विद्रोह जागिराखेको थियो । अझै पनि समय छ, छोड्दे सबैलाई । तेरो गन्तव्य यो होइन भनेर । तर पनि सकिनँ ।

जस्ले जेजे गर भने त्यहीत्यही गर्दै गएँ । यो घर र यहाँका मान्छेहरू कुनै अर्कै ग्रहबाट आएका एलियन जस्तै लागिराखेको थियो । अब यो विदेशबाट आएको केटोसँग सिँगै रात बिताउनु छ भन्ने कुराले ज्यानमा काडाँ उम्रिन थालि सकेको थियो। रात आउँदै नआए पनि हुन्थ्यो सधै दिन मात्र आए पनि हुन्थ्यो जस्तो भइराखेको थियो ।

त्यो केटा र म मात्र एउटै कोठामा थियौँ । सुङ्गुर बस्ने खोर जस्तो सानो कोठा ।
दाँत देखाउँदै कोठामा पस्यो । म उसलाई हेर्न नपरनेस् भनेर मोबाइलतिर फर्किन्छु ।
‘आज हाम्रो सुहागरात ।’ भन्दै मेरो नजिक आएर थचक्क बस्यो ।

कुनै पशु मरेर सिनो गनाएझैँ सोझै मेरो नाकमा छिर्छ । दौडेर गएर बान्ता गरूँ जस्तो भइराखेको थियो । उसको शरीरबाट आएको गन्धले । अलिकति सम्मालिन खोजे तर मेरो केहि सिप लागेन । अन्ततः शरिर उसैलाई सुम्पिन बाध्य भए । तर मन तिमीसँगै छ सहेस ।

प्रतिक्रिया दिनुहोस्