डडेल्धुरामा भीषण आगलागी, आगो लगाउने पक्राउ



डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा गएराती भीषण आगलागी भएको छ । अमरगढी नगरपालिका–५ को बगरकोट रोडमा मध्य राती साँढे बाह्र बजे आगलागी हुँदा ९ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रमा लिइएको थियो ।

गत हप्ता मात्र डडेल्धुरामा लगातार ३ पटक भएको आगलागीमा ५ पसल जलेर नष्ट हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो । दुई हप्तामा डडेल्धुरामा १४ पसल जलेर नष्ट भएका छन् ।

यसैबीच सदरमुकामका पसलमा पटक पटक आगो लगाउँदै आएको आरोपमा एक जना पक्राउ परेका छन् । गएरातीको आगलागी सहित ४ पटक भएको आगलागीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । 

नाम ठेगाना नखुलाइए पनि पक्राउ परेका व्यक्ति आगलागी पीडितकै आफन्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्