इरान–अमेरिका युद्धले नेपालमा पर्ने असर



एजेन्सी : इरान र अमेरिकाले एक अर्कासँग बदला लिने घोषणा गरिरहँदा कतै ठूलै युद्ध नै पो हुने हो कि भन्ने चिन्ता छाएको छ । यदि युद्ध भयो भने यसको नेपालमा के असर पर्ला त ?

युद्ध भएमा त्यसको असर विश्वभरी त पर्छ नै तर नेपालमा भने युद्धको त्रासले मात्रै पनि ठूलो असर पुर्याउँने विज्ञहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वराजदूत प्रा. जयराज आचार्यले इरान र अमेरिकाबीच युद्ध भयो भने स्थिती तनावग्रस्त हुने बताएका छन् । उनले दुई देशबीच खुला युद्ध भएमा अवस्था सम्हाल्न विश्वलाई नै हम्मे–हम्मे पर्ने विश्लेषण गरेका छन् ।

उनले दुई देशको युद्धले मध्यपूर्वी देशहरुलाई ठूलो धक्का पुग्ने भन्दै इरान–साउदी अरब र इजरायल–इरानबीच समेत सम्बन्ध राम्रो नभएको उल्लेख गर्दै नेपालीहरु त्यसको मारबाट अछुतो नरहने बताए ।

यसैगरी, इरानको भारत, चीन र जापानसँग भने राम्रो व्यापार सम्बन्ध रहेको छ । उनीहरुले इरानलाई सहयोग गर्नेमा दुइमत नभएको प्रा. आचार्य बताउँछन् ।

त्यसैले, इरानसँग सम्बन्ध राम्रो भएको र सम्बन्ध नराम्रो भएको सबै देशहरुको अर्थतन्त्रमा उथलपुथल आउनेछ । त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्छ ।

प्रा. आचार्यले खुला युद्ध नभएपनि अब ती देशहरुमा आतंकवादी गतिविधि बढ्न सक्ने बताउँछन् ।

नेपालको ठूलो हिस्सा रेमिट्यान्सबाट चल्ने हुँदा नेपालको रेमिट्यान्स घट्न सक्छ । उदाहरणको रुपमा एक वर्ष मलेशियामा काम गर्न जान नपाउँदा नेपाल भित्रिने रेमिट्यान्सको वृद्धिदर २० प्रतिशतभन्दा बढीले घटेको थियो ।

नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा एकैपटक युद्धग्रस्त देशहरुबाट नेपाली कामदार हटे भने नयाँ संकट सिर्जना हुने विज्ञहरु बताउँछन् ।

हाल नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान लगभग ३० प्रतिशत रहेको र कृषिमा ३५ प्रतिशत रहेको छ । यसरी हेर्दा कृषिप्रधान देशमा अन्तर्राष्ट्रिय श्रमबजारको योगदान बढी भएको अवस्थामा नेपालको अर्थतन्त्रमा इरान र अमेरिकाको युद्धले भारी गिरावट आउन सक्छ ।

यसैगरी, नेपालबाट कामका लागि जाने कामदारको संख्यामा पनि कमी आउने र नेपाल सरकारको सुरक्षा अवस्थासमेतमा असर पर्ने प्रा. आचार्यले बताए ।

सुलेमानीको हत्यापछि अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई तत्काल इराक छोड्न निर्देशन दिइसकेको छ । इराकमा थुप्रै अमेरिकी संघसंस्था र कम्पनीहरु सञ्चालन भएका छन् । जहाँ नेपालीहरु कामदारको रुपमा कार्यरत छन् ।

द्वन्द्वग्रस्त देशहरु इराक, अफगानिस्तान र सिरियाजस्ता देशहरुमा काम गर्न जान प्रतिबन्ध लगाएपनि गैरकानुनी रुपमा काम गर्न गएका थुप्रै नेपाली त्यहाँ रहेका छन् । तिनीहरुको अवस्था अब के हुने भन्ने बारेमा अझै स्पष्ट धारण सार्वजनिक नभएको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्