प्रदेश २ मा दुई बर्षमा डेढ प्रतिशत नागरिकको मात्रै स्वास्थ्य बिमा



जनकपुरधाम : सरकारको महत्त्वाकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश २ मा प्रभावकारी देखिएको छैन ।

प्रदेश २ मा अहिलेसम्म १ दशमलव २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन् । ५४ लाख जनसंख्यामध्ये ६६ हजार ५ सय ५८ जनाले मात्र अहिलेसम्म स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा वोर्ड प्रदेश २ का प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशवाहाले जानकारी दिएका छन् ।

उनले भने,‘अस्पताल र स्वास्थ्य चौकीहरुले बदमासी गरेपछि स्वास्थ्य विमा गरेका विमितहरु निःशुल्क औषधी पाउनबाट वञ्चित भएका छन् ।’

२०७४ साल माघ २५ गतेदेखि महोत्तरीबाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम अहिले प्रदेश २ का ५ वटा जिल्लामा विस्तार भइसकेको छ भने सप्तरीमा विमा वोर्डको कार्यालय सञ्चालन गर्ने तयारी सुरु भइसकेको छ ।

त्यस्तै बारा र सर्लाहीमा यस आर्थिक वर्ष भित्र स्वास्थ्य विमा कार्यक्रम सुचारु गर्ने संयोजक कुशवाहाले बताए । रौतहटमा २०७४ चैत २२ गते, पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते र सिरहामा २०७५ फाल्गुन २ गतेदेखि सञ्चालनमा ल्याईएको स्वास्थ्य विमा कार्यक्रम अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन ।

प्रदेश २ का ४० वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासंग सम्झौता गरेर सुचारु गरिएको स्वास्थ्य विमा कार्यक्रम स्वास्थ्य संस्थाहरुको फार्मेसीमा औषधी अभावको समस्या हुनाले पनि प्रभावकारी बन्न नसकेको आँकलन गरिएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामको फार्मेसीमा पनि प्रर्याप्त औषधी नहुँदा अस्पतालमा सेवा लिन आउनेको संख्या गुणात्मक रुपमा न्युन रहेको वोर्डका संयोजक कुशवाहाले बताए ।

प्रादेशिक अस्पताल जनकपुरधामले पुस मसान्तसम्ममा २ हजार ८ सय ३८ जनालाई सेवा दिएको वोर्डको तथ्यांकमा उल्लेख छ । यो संख्या तुलनात्मक रुपमा कम रहेको कुशवाहाले स्विकारेका छन् ।

नीजि स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आखां अस्पतालहरुले राम्रो सेवा दिदैं आएको बताउँदै कुशवाहाले आरएन केडिया आंखा अस्पताल पर्सा,गौर आंखा अस्पताल रौतहट,किरण आंखा अस्पताल पर्सा,सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, जानकी आंखा अस्पताल जनकपुरधाम लगायत निजी अस्पतालले विमितहरुलाई भरपर्दो सेवा प्रदान गरेपनि शुभ स्वस्तिक अस्पताल महोत्तरी,नेशनल मेडीकल कलेज पर्सा,सप्तऋषी अस्पताल सिरहा लगायतका अस्पतालले सम्झौता गरेर पनि स्वास्थ्य विमा कार्यक्रममा कुनै चासो नै नदेखाएको कुशवाहाको गुनासो छ ।

यता, स्वास्थ्य विमा कार्यक्रमप्रति निजी स्वास्थ्य संस्थाहरुले खासै चासो नदेखाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अम्बिका मण्डलले दुःखेसो सुनाएकी छिन् ।

स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४९ वटा जिल्लामा सुरु भइसकेको छ । तर बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन् । प्रदेशगत रुपमा प्रदेश नम्बर २ मा सबैभन्दा कम नागरिकले बीमा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्