घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि …



विराटनगर : मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए। उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला।’ अविनारायण भने त्यही कुरा दोहोर्‍याउँदै गाउँतिर दौडिरहेका थिए। 

मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन्। पत्याएनन् पनि। तर रातका समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर रहेका उनका काका नारायण भण्डारीले निस्किएर हेर्दा दाजु इन्द्र भण्डारीको घरमा दनदनी आगो दन्किइरहेको देखे। त्यतिबेला मात्रै उनले चाल पाए भतिजो (दाजुका छोरा) अविनारायणले आफ्नै घरमा आगो लगाए छन्। 

आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न आग्रह गर्दै दौडिएका अविनारायणलाई भने धेरै खोजी गर्दा पनि नभेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। इन्द्रका छोरा अविनारायण आफैँले आगो लगाउँदा एक तले दुईवटा पक्की घर, गाईगोठ र बाख्रा फार्मममा क्षति पुगेको छ। अविनारायणको मानसिक सन्तुलन ठीक भएको नपाइएको प्रहरीको भनाइ छ। प्रनि दाहालले घटनामा ८ लाख रुपैयाँ बढीको क्षति भएको जानकारी दिए। 

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सकेका कारण ठूलो क्षति भने हुन नपाएको उनले बताए। ‘आगो पूर्ण रुपमा नियन्त्रणमा लिइसक्दा राति १० बजेको थियो,’ दाहालले भने, ‘घटनाका बारेमा प्रहरीले आफ्नै हिसाबले अनुसन्धान अघि बढाएको छ।’ 

प्रहरीकाअनुसार अविनारायण लगभग तीन वर्षदेखि घरमा नियमित नबस्ने गरेको पाइएको छ। चार वर्षअघि एक्कासि मानसिक समस्या देखिएपछि बुवा इन्द्रले उपचारका लागि नेपाल र भारतमा रहेका विभिन्न सुविधा सम्पन्न स्वास्थ्य संस्था र अस्पताल पुर्‍याए। छोराको उपचारमा धेरै खर्च पनि गरे। तर उचार ठीक नहुँदै अविनारायणले घर नै छाडिदिए। कहिले काहिँ आउने र जाने गर्थे। काका नारायणले भने, ‘बहिर कहाँ गएर के गर्छ हामीलाई थाहा भएन। तर घरमा आएको बेला अविनारायणले मानसिक बिरामीले देखाउने व्यवहार देखाउँथ्यो।’ 

बुवा इन्द्र पनि छोराको यो अवस्था देखेर आजित भइसकेका थिए। ‘उपचार भइरहेका बेला ऊ घरमै बसेन,’ नारायणले भने, ‘कहिले काहिँ आएर बुवालाई थर्काउने, धम्क्याउने र मानसिक अवस्था कमजोर भएकाले देखाउने व्यवहार देखाउने गरेको थियो।’ उनकाअनुसार बाहिरबाट छोरा आएको थाहा पाउन साथ आक्रमण गर्ने डरले असुरक्षित महसुस गर्दै इन्द्र घर नै छाडेर छिमेकीका घरतिर आश्रय लिएर जाने गरेका थिए।   

अविनारायणको उपचारमा लागेको ऋण तिर्न भन्दै उनकी श्रीमती कला पनि तीन वर्ष अघि कतारतिर लागेको नारायणले बताए। कलाकी सासू एवं अविनारायणकी आमा राधिका त्यसअघि देखि नै वैदेशिक रोजगारीका लागि उतै थिइन्।

नारायणका अनुसार श्रीमती विदेश गएको कुरामा अविनारायणको असहमति थियो। पारिवारिक सल्लाह बिना नै श्रीमती विदेश गएको भन्दै घर छाडेर हिँडेका उनले दुई वर्षअघि खोटाङकी एक युवतीसँग दोस्रो बिहे गरेको नारायणको भनाइ छ। 

‘जेठी श्रीमतीतर्फ ८ वर्षका छोरा छन्,’ उनले भने, ‘कान्छी श्रीमतीतिर पनि छोरी भएको चाल पाइयो।’ उनका अनुसार मानसिक सन्तुलन ठिक नभएका कारण घर छाडेर हिँडेको छोरो कहिले काहिँ आएर आक्रमणको प्रयास गर्ने गरेपछि बुवा इन्द्रले पनि घर छाडिदिए। इन्द्र नाति (छोराको छोरो) को हेरचाह गर्दै इटहरीमा बस्न थालेको नारायणले बताए। उनका अनुसार इन्द्र इटहरीबाट पहाडी जिल्ला चल्ने स्कोरपिओ गाडी चलाउँछन्। बाबु, छोरा बस्दै आएको घरमा दुवै जनाले छाडिदिएपछि पछिल्लो समय कोही पनि थिएनन्। 

मानसिक सन्तुल ठिक हुँदा अविनारायण पनि गाडी चलाउँथे। त्यसअघि भण्डारी परिवारले व्यवस्थित रुपमा फार्म नै सञ्चालन गरेर भैंसी र बाख्रा पालन गरेको थियो। अविनारायणको मानसिक सन्तुलन ठिक नभएपछि फार्म बन्द भएको नारायणले बताए। 

लामो समयपछि अविनारायण मंगलबार बिहान त्यहाँ आइपुगेका थिए। बिहान काकाको घरमा खाना खाएपछि निस्किएका उनी बेलुका फर्किएर आफ्नै घरमा आगो लगाएर फरार भएको प्रनि दाहालले बताए। ‘मानसिक रुपमा कमजोर रहेकै कारण घर छाडेको पाइयो,’ दाहालले भने, ‘आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न बोलाउनुको पछाडी बिग्रिएको मानसिक सन्तुलन नै मुख्य कारण हुन सक्छ।’ अविनारायणलाई पक्राउ गरेर अनुसन्धान थालेपछि केही कुरा खुल्न सक्ने उनको भनाइ छ। 

त्यस्तै मोरङकै कटहरी गाउँपालिका ७ का योगेन्द्र मेहताको कर्कटपातको छानो भएको एक तले घरमा बुधबार बिहान १ बजे आगलागी भएको छ। 

आगलागीमा घर, घरमा भएका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। जलेर एउटा बाख्रो मरेको छ।

आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको राईको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्