एसएसपीको फोनले डीआईजीको मन भरंग



काठमाडौं : महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुखको रुपमा आएपछि डीआईजी विश्वराज पोखरेलले मातहतका कार्यालयलाई चुस्त दुरुस्त र प्रहरीलाई आचरणयुक्त बनाउन खटिरहेको देखिन्छ । कार्यालय प्रमुखहरुलाई प्रहरी जवानहरुसँगै खान र सुत्न उनले दिएको आदेश कति पालना भएको छ–छैन त्यो बेग्लै कुरा हो । तर, यो आदेश विवादमा परेको छ । फौजी संगठनको विशिष्टता नहेरी उनले सस्तो लोप्रियता हासिल गर्नका निम्ति यस्तो आदेश दिएको भन्दै प्रहरी संगठनभित्र आलोचना भइरहेको छ । कतिपय प्रहरी अधिकारीहरु डीआईजी पोखरेल यसअघि विभिन्न जिल्लामा इन्चार्ज भएर बस्दा कति पटकसँगै खाए र कति पटकसँगै सुते भन्ने विषय प्रहरी मुख्यालयमा चर्चा गर्छन् । ती अधिकारीहरु संगठनको नीतिगत सुधारमा लाग्ने कि राजनीतिज्ञले जस्तो सस्तो लोकप्रियताको कुरा गरेर लोकप्रिय बन्ने भन्दै डीआईजी पोखरेलप्रति व्यंग्य पनि गर्छन् ।

त्यसोत अहिले हुण्डी काण्ड टेकुदेखि रानीपोखरीसम्म चर्चाको विषय बनेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीको प्रमुख भई आएपछि डीआईजी पोखरेलले घुमुवा प्रहरी हटाएको बताएपनि मातहतका कार्यालयमा भने अहिलेसम्म घुमुवाहरु उठ्तीपुठ्तीमा संलग्न देखिन्छन् । पोखरेलले एसपी रेवती ढकालको नेतृत्वमा ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेर काम अगाडी बढाएपनि त्यसको प्रभावकारितामा भने प्रश्न उठ्न थालेको छ ।

हुण्डी कारोबारीलाई समाउने योजना अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखाले डीआईजी पोखरेललाई रिपोर्ट गर्दै हुण्डी व्यापारी पक्राउ गरेको जानकारी दियो । तर, एकाएक यो विषय अहिले चर्चामा छ । पहिले रिपोर्ट गर्दा हुण्डी कारोबारी बाबुलाल अग्रवाल पक्राउ परेको जानकारी दियो । तर, पछि फेरी कमल अग्रवाल पक्राउ परेको बताइयो ।

श्रोतका अनुसार पक्राउ परेका बाबुलाललाई छाडिदिएर प्रहरीले कमललाई समाएको चर्चा व्यापक बनेको छ । केही दिन अगाडी न्युरोडबाट पक्राउ परेको हुण्डी कारोबारीको बारेमा फरक–फरक विषय जानकारी गराउँदै उनीहरुले डीआईपी पोखरेललाई गुम्राहमा राख्ने काम गरेका हुन् । प्रहरीले पहिले रिपोर्टिङ गरेअनुसार बाबुलालको ठाउँमा कमल पक्राउ परेका हुन् । काठमाडौंमा हुने विभिन्न अपराधिक क्रियाकलापको महानगरीय अपराध महाशाखाले हेर्छ भने त्यसको रिपोर्टिङ आयुक्तको कार्यालय रानीपाखरीमा गर्नुपर्ने हुन्छ । अपराध महाशाखाको प्रमुख रहेका छन्–एसएसपी सहकुल थापा । एसएसपी थापाले केही हुण्डी व्यापारीहरुलाई तर्साउदै अन्यबाट शुभलाभ प्राप्त गरिरहेको गुनासो प्रहरी मुख्यालयमा समेत पुगको छ । एउटै ब्याजी रहेका डीआईजी पोखरेल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा आएपछि एसएसपी त्यसै तनावमा रहेका थिए । अहिले यो काण्ड आएपछि अपराध महाशाखा प्रमुख थापा झन तनावमा रहेको बुझिएको छ ।

घटनाअनुसार केहिदिन अगाडी महाशाखाको टोलीले न्यूरोडबाट ४ जना हुण्डी कारोवारीहरूलाई पक्राउ गरेको थियो । नगद १३ लाख ५२ हजार र ७८ लाख ९९ हजारको चेक गरी झण्डै एक करोड बराबरको रकमसहित ती हुण्डी कारोवारी पक्राउ परेका थिए । प्रहरीद्वारा पक्राउ गरेकोमा काठमाडौं इन्द्रचोक बस्ने इजोन पसलका सेल्स स्टाफ गोपाल अग्रवाल, सोही पसलका कर्मचारी भोला नेपाल र भोटेबहालमा रहेको एनएस ट्रेडर्सका सञ्चालक कमल अग्रवाल र जय दुर्गा ट्रेड इन्टरनेशनलका सञ्चालक सुनसरीको धरान– २ का नारायणकुमार अग्रवाल छन् ।

त्यसक्रममा प्रहरीले गोपाल अग्रवाल र नेपालको इजोन पसलबाट ९ लाख ५० हजार नगद र ६४ लाख ९९ हजार रूपैयाँ बराबरको चेक बरामद गरेको सार्वजनिक ग-यो भने कमल अग्रवालबाट २ लाख नगद र १४ लाख बराबरको चेक एवं नारायण कुमारबाट २ लाख २ हजार नगद बरामद गरेको कुरा बाहिर ल्याएको थियो ।

उनीहरूले ह्वाट्सएप, विच्याटलाई कुराकानीको माध्यमबाट हुण्डी कारोबार गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीले अन्यलाई पक्राउ गर्दा कमल अग्रवाललाई पक्राउ गरेको थिएन । उनका बुबा बाबुलाल अग्रवाल पक्राउ परेका थिए । कुरा के हो भने प्रहरीले शुरुमा कमल अग्रवाललाई पक्राउ गरेको होइन । कमल अग्रवालका पिता बाबुलाल अग्रवाललाई पक्राउ गरेको थियो । कमल अग्रवाल बाबुलाल अग्रवालका जेठा छोरा हुन् । यसरी जेलमा बाबुको सट्टा दाईलाई पठाउने काम गरेको बाबुलालका कान्छा छोरा सुनील अग्रवालले बताए । उनको प्रहरी अधिकारीहरुसँग राम्रो चिनजान भएका कारण बुबाको सट्टा दाजुलाई जेल पठाएको कुरा बाहिर आएपछि रानीपोखरी परिसरमा हल्लीखल्ली मच्चिएको छ । आर्थिक चलखेल गरी सुनिलले यस्तो गरेको विषय अहिले एक कान दुई कान मैदान हुँदै बाहिर आएको छ ।

सुनील अग्रवाल चाइनाको क्यारिङको कारोवार गर्छन् भने उनी क्यासिनोका चर्चित खेलाडीका रूपमा समेत चिनिन्छन् । उनलाई सबै क्यासिनोका सञ्चालक र मुख्य कर्मचारीहरूले चिन्छन् । एक क्यासिनो सञ्चालकका अनुसार सुनीलले झण्डै ८ करोड रूपैयाँ क्यासिनोमा हारेका छन् ।

यतिमात्रै होइन् स्वयं सुनील अग्रवाल चाइनाको हुण्डीको अवैध कारोवारसमेत गर्ने गर्दछन् । प्रहरीसँग सम्बन्ध भएको भन्दै महाशाखालाई महिनावारी रकम नदिएपछि प्रहरीले निगरानी गरेकै कारण उनका पिता बाबुलाल अग्रवाल पक्राउ परेको बताईन्छ । बजारमा सुनील अग्रवाल चाइनाको हुण्डीको किङ भनेर चिन्ने गरिन्छ । विशाल बजारमा सूर्योदय पसल सञ्चालन गरेका राजु धानुकाले आफ्ना सम्धी बाबुलाल र पछि पिताको सट्टामा थुनामा रहेका ज्वाइँ कमल अग्रवाललाई छुटाउन निकै प्रयत्न गरेका थिए, तर उनी सफल भएनन् । राजु धानुकाकी छोरी कमल अग्रवालसँग बिहे भएको हो । प्रहरीले उक्त रकमसहित यी हुण्डी कारोवारीहरूलाई राजश्व अनुसन्धानमा बुझाइसकेको थियो ।

उता डीआईजी पोखरेलले घुमुवा हटाएको समाचारहरू सार्वजनिक भए तर लगत्तै सिभिलमा रहने गरी एसपी रेवती ढकालको कमाण्डमा अर्को टोली पनि गठन गर्ने काम डीआईजीले गरे । एसपी ढकालको नेतृत्वमा ‘पर्फरमेन्स अडिट टिम’ को गठन डीआईजी पोखरेलले गरे । महानगरीय प्रहरीअन्तर्गत उपत्यकाका तीन वटा जिल्लाका परिसर र मातहतका युनिटहरूको आन्तरिक सेवा चुस्त बनाउने, अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न भन्दै ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको डीआईजी पोखरेलले जानकारी दिए ।

कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालय मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि टोली गठन गरेको उनले बताए । पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्ने गरी प्रहरी उपरीक्षक ढकालको नेतृत्वमा टोली गठन गरिएको बताए । सो टोलीलाई सादा पोशाकमा समेत आवश्यकता अनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ । तर, डीआईजी पोखरेलले आफ्नो कार्यालयका घुमुवा टोली हटाए पनि मातहतले भने हटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्