उधारोमा सुत्केरी !



प्युठान : झिमरुक गाउँपालिका–१ धनगाडा सौतामारेफेदीकी विपना घर्तीमगरले स्वास्थ्यचौकी पुगेर चार पटक नियमित गर्भजाँच गराइन् । गाउँका महिला स्वास्थ्य स्वयंसेविकाले कम्तीमा चारपटक गर्भजाच गराउनुपर्छ भनेपछि उनी गाउँकै स्वास्थ्यचौकी पुगेकी हुन् ।

२१ वर्षीया उनले गत कात्तिकमा बांगेमरोठ स्वास्थ्यचौकी पुगेर पहिलो सन्तान छोरा जन्माइन् । स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यातायात खर्च पाइने उनले सुनेकी थिइन् । तर, उनले यातायात खर्च त पाइनन् नै गर्भजाच गराउँदा उत्प्रेरणाबापतको पैसा पनि पाइनन् । ‘पछि दिन्छौँ भन्नुभएको छ’, उनले भनिन्, ‘माघ ३ गते खोप लगाउन जाने हो । त्यसै दिन दिनुहुन्छ कि ? ’

विपनाजस्तै झिमरुक गाउँपालिकाका धेरैजसो सुत्केरीले यातायात र गर्भजाँच बापतको रकम पाएका छैनन् । गत आर्थिक वर्षसम्म गाउँगाउँमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाले रकम बुझ्दै आएका थिए ।

तर, चालु आर्थिक वर्षको शुरुकै महिनादेखि रकम नआएपछि स्वास्थ्यकर्मीले रकम दिन सकेका छैनन् । कतिपय स्वास्थ्यचौकीले व्यवस्थापन समितिमा भएको रकमबाट सुत्केरीलाई दिने गरे पनि बजेट नुहँदा समस्यामा परेका छन् ।

सोही गाउँपालिका–१ स्थित सौतामारेकी कल्पना केसीले पनि सुत्केरी भएपछि स्वास्थ्यचौकीबाट पैसा नपाएको गुनासो गरिन् । २२ वर्षीया केसीले गत भदौमा स्वास्थ्यचौकी पुगेर सन्तान जन्माएकी थिइन् ।

स्थानीय १८ वर्षीया कमला जिसी, २० वर्षीया धनकुमारी पुन र २८ वर्षीया पवित्रा जिसीले पनि पैसा नपाएको गुनासो गरे । ‘सुत्केरी हुनेको रेकर्ड राखेका छौँ’, बांगेमरोठ स्वास्थ्यचौकी इन्चार्ज पुनम बिसीले भनिन्, ‘उधारोमा सुत्केरी गराउनुपर्ने बाध्यता छ ।’

सुत्केरी भएपछि घर फर्कदा यातायात बापतको रकम महिलालाई हातमा दिन नसकिएको उनले सुनाइन् । यसवर्ष पाँच जना महिलालाई गर्भजाच र सुत्केरी बापतको रकम दिन नसिकएको उनले जानकारी दिए । उनका अनुसार गतवर्ष २८ जना महिला स्वास्थ्यचौकीमा सुत्केरी भएका थिए । चालु आवको हालसम्म नौ जना सुत्केरी भएको उनले बताइन् ।

झिमरुक गाउँपालिकामा ओखरकोट ढाँड, बादीकोट, तुषारा र तोरबाङमा स्वास्थ्यचौकी सञ्चालनमा छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत कुनै पनि चौकीमा रकम नगएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले जानकारी गराए ।

‘रकम निकास भएको छैन’, उनले भने, ‘सुत्केरीलाई यातायातको पैसा दिन सकिएको छैन ।’ योजनामा विनियोजित बजेट खर्च गर्न नसकिने बताउँदै उनले पहिलो चौमासिकसम्म रकम निकासा नआएको उल्लेख गरे । आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्