मदिरा सेवन गरी वितण्डा मच्चाउने वडा सचिव कारबाहीमा



कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा सचिव कारबाहीमा परेका छन् । केही दिन अगाडी वडा सचिव करुणाकर जोशी कार्यकक्षमै मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा भेटिएका थिए ।

उनले सेवाग्राहीलाई मारमा पारेर गरेको होहल्लासहितको भिडियो विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएपछि वडा सचिव जोशी कारबाहीमा परेका हुन् ।  कार्यालय समयमा मदिरा सेवन गरेर होहल्ला गर्ने जोशीमाथि कारबाही भएको भन्दै वडा अध्यक्ष भगीराम चौधरीले मिडियालाई धन्यवाद दिएका छन्  । 

आफूले यसअघि पनि पटकपटक कारबाहीको लागि पहल गर्दै आएको भए पनि सम्बन्धित पक्षले सुनुवाई नगरेको अध्यक्ष चौधरीले गुनासो गरे ।  धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले सचिव जोशीलार्ई कानुनी कारबाहीको प्रक्रिया  अगाडी बढाउन प्रशासकीय अधिकृतलाई निर्देशन दिएको  बताए ।

कार्यालय समयमा मदिरा सेवन गरी जनताको काम कारबाहीमा पटकपटक ध्यान नदिने गरेको आफूलाई जानकारीमा आएपछि वडा कार्यालयम नै गएर सचेत गराए पनि बानी नसुधारेपछि अन्तिम विकल्पको रुपमा जोशीलाई जिम्मेवार विहीन बनाएर कारबाही प्रक्रिया अगाडी बढाएको मेयर वडको भनाई छ । 

सचिव जोशीलाई कारबाही गरी जिम्मेवार विहीन बनाएर उनको ठाउँमा अर्का सचिव महादेव भट्टलाई पठाईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्