कृषि बिकास बैंकका प्रवन्धक ढुंगेल र सेनाका जर्नेल विष्टसहित ८ जनामाथि अख्तियारद्वारा मुद्दा दायर



काठमाडौं : कृषि विकास बैंक न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज (मंगलबार) आरोपपत्र दायर गरेको छ ।

अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट र सञ्चालक प्रकाश घतानीले ४ करोडभन्दा बढी रकमको दुरुपयोग गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दयार गरेको अख्तियारको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

उनीहरुले ४ करोड ४२ लाख ७३ हजार ६ सय ११ रुपैयाँ ४५ पैसा कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय न्यूरोडबाट अनधिकृत रुपमा रकम निकाली दुरुपयोग गरेको आरोप छ ।

बैंकका कर्मचारी रेग्मी, तत्कालीन शाखा प्रबन्धक ढुंगेल, ऋण शाखा प्रमुख गिरी र तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त रेग्मीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले उनीहरुलाई कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

यसैगरी ऋण शाखा प्रमुख महेश्वर मरहट्ठाले ६,७,२१,००० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए । उनलाई कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी मरहट्ठालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

त्यस्तै तारानाथ पाण्डेमाथि ४ लाख भ्रष्टाचार गरेको आरोप छ । पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको छ । उनलाई उक्त रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

अवकास प्राप्त सहायक रथी बिष्टमाथि ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको आरोप छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानिनोक्सानीको बिगो कायम गरी मूख्य आरोपी दिपिका रेग्मीलाई भएसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

यसैगरी संचालक घतानीदुर्गा ज्वेलर्स २ करोड ६७ लाख ७५ हजार ४ सय ३५ रुपैयाँ भ्रष्टाचार गरेका छन् । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानि नोक्सानीको बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्