सामाजिक सञ्जालमा भडास पोखेकी गायिका राउत विवादमा



काठमाडौं : बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रदपुर जाने क्रममा महिला प्रहरीले चेकिङको नाममा दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भडास ओकलेकी गायिका आस्था राउत एकाएक विवादमा तानिएकी छिन् ।

उनले प्रहरीले बोल्ने भाषा अशभ्य भएको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द प्रयोग गरी ‘प्रहरी हाम्रो साथी’ भन्ने स्लोगन नै हटाउनुपर्ने बताएकी छिन् ।

नेपाली रकस्टार राउतले प्रहरीमाथि गरेको गालीगलौजले प्रहरी संगठनको जिम्मेवार व्यक्तिहरुसमेतलाई एकपटक झस्काएको छ । उक्त भिडियो हेरेपछि प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले उनको भिडियोलाई लिएर छानबिन सुरु गरिसकेको बताएका छन् । उनले छानबिन समिति समेत गठन गरिसकेको समेत जानकारी दिए ।

सामाजिक सञ्जालमा बाहिरिएको उनको भिडियो केही समयमानै भाइरल बन्न पुग्यो । उनको भिडियो हेरिसकेपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले एक जिम्मेवार र चर्चित गायिकाले दिएको उक्त अभिव्यक्ति लज्जास्पद भएको प्रतिक्रिया जनाएका छन् भने कतिपयले प्रहरी प्रशासनमाथि नै औंला उठाएका छन् ।

भिडियो हेरेका महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले पनि आस्थाले लगाएको आरोपबारे अनुसन्धान हुने बताएका छन् । उनले आस्थामाथि त्यस दिन के के भएको थियो त्यसको सम्पूर्ण छानबिन गरिने पनि स्पष्ट पारे ।

राउतमाथि दुव्र्यहार भएको भए त्यो गलत हुने बताउँदै उनले भने,‘उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन । प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुन्छ ।’

प्रहरीले उक्त घटनाको बारेमा छानबिन सुरु गर्ने बताएलगत्तै राउतले आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट हटाएर माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन । एकजना प्रहरीले गरेको व्यवहारका कारण मैले सबैप्रति आक्रोश पोख्न पुगें । मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ । यद्यपि, मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु ।

सामाजिक सञ्जालमा मात्रै होइन उनलाई व्यक्तिगत र प्रहरी प्रशासनबाट नै सोधखोज हुन थालेपछि उनले फेरि अर्को स्ट्यास लेखेकी छिन् । उनले आफ्नो आवाज दुव्र्यवहारविरुद्ध भएको र प्रहरी प्रशासनविरुद्ध नभएको जिकिर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्