‘निगममा प्वालैप्वाल, टाल्दाटाल्दै हैरान’



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।  

निगमको ४९ औँ वार्षिकोत्सवलाई  सम्बोधन गर्दै उनले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गरे । उनले भने, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्याङ्कर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन् । अनि जनता जहिले पनि मारमा परेको प¥यै ।” 

निगममा देखिएका विकृतिको चाङ हटाउन आफूलाई निकै गाह्रो भएको भन्दै मन्त्री यादवले आफू निगममा देखिएको प्वाल टाल्दाटाल्दै हैरान भएको टिप्पणी गरे । उनले भने, “निगमलाई सुधार्न निकै चुनौती भए पनि ती चुनौती सामना गर्दै अघि बढेको छु ।” 

आफू मन्त्री भएदेखि नै विकृति विसङ्गती विरुद्ध लड्दै आएको स्मरण गर्दै उनले निगममा देखिएको अनियमिता तथा विकृति बन्द नगरे कसैको कल्याण नहुने चेतावनी दिए ।  

पेट्रोलियम पदार्थका क्षेत्रमा सुधारको प्रयत्न गर्न आफूले मन्त्रालय सम्हालेदेखिनै काम गर्दै आए पनि निजी क्षेत्रले सहयोग नगरेको उनको गुनासो छ । इन्धनको बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले विक्रेता नियमावली ल्याउने तयारी गरेपनि निजी क्षेत्रले असहयोग गरेको मन्त्री यादवले बताए ।  

सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पार्दै मन्त्री यादवले विस्फोटन हुने गरेर विकृति नल्याउन निजी क्षेत्रसँग आग्रह गरे । उनले भने, “समझदारीबाटै समस्याको हल गरौँ, छलफल गरौँ, जनता, निजी क्षेत्र, सरकार र कर्मचारीको लगानीबाट निगमलाई समृद्ध बनाऔँ, निगमको कामलाई व्यवस्थित गरौँ ।”

प्रतिक्रिया दिनुहोस्