कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँदै : मन्त्री अर्याल



काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालमा पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छन्।

प्रेस सङ्गठन नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापन र सिङ्गो भूमिको व्यवस्थापनलाई समेटेर कानून निर्माणको काम पूरा भएको जानकारी दिए।

“भूमि ऐनको आठौँ संशोधनमार्फत जमीनको स्वामित्व नभएका व्यक्तिलाई राज्यका तर्फबाट निश्चित क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ”, मन्त्री अर्यालले भने, “अव्यवस्थित बसोबासीको हकमा लामो समयदेखि जोतभोग गरिरहेको व्यक्तिलाई निजको आर्थिक हैसियत हेरी थोरै वा बढी राजश्व लिएर बसोबासको व्यवस्था गर्न लागिएको छ ।”

पत्रकारको प्रश्नमा उनले वित्तीय हस्तान्तरण लगायतका काममा भएको ढिलाइले सुदूरपश्चिम प्रदेशका मुक्त हलियाको पुनःस्थापनाको कार्य समयमै हुन नसकेको बताउँदै चालू वर्षमा वित्तीय हस्तान्तरणको काम छिट्टै गरेर मुक्त हलियाको पुनःस्थापनको पहल गरिएको बताए। – रासस

प्रतिक्रिया दिनुहोस्