निगमका अध्यक्ष खरेलको राजीनामा



काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि, खरेलको राजीनामा सम्बन्धमा स्वतन्त्र पुष्टि भइसकेको छैन । यसबारे कुनै पनि निकायले आधिकारिक प्रतिक्रिया दिएको छैन । निगमका प्रवक्ता गणेशबहादुर चन्द्रले अध्यक्ष खरेलले राजीनामा दिएको हल्ला आए पनि निगमका कुनै पनि विभागलाई अहिलेसम्म कुनै जानकारी नआएको बताए।

बिहान मन्त्रीसमक्ष राजीनामा बुझाइएको भनिए पनि खरेल कार्यालय समयमा कार्यकक्षमै रहेको निगमका एक उच्च अधिकारीले जानकारी दिए। पर्यटन मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क गर्दा खरेलको राजीनामाबारे अनभिज्ञता प्रकट गरे।

स्वयं खरेलसँग पटकपटक सम्पर्क गर्दा पनि कुराकानी हुन सकेन । झापा स्थायी घर भएका खरेललाई गत विसं २०७५ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । खरेल यसअघि विसं २०७० जेठमा निगमको महाप्रबन्धक बनेका थिए। – रासस

प्रतिक्रिया दिनुहोस्