नेपाल–भारत सीमामा पाँच भन्सार विन्दु थप गरिदै   



विराटनगर : नेपाल र भारतको सहमतिमा दुई देशका सीमा नाकामा नयाँ पाँचवटा भन्सार विन्दु थप गरिने भएको छ । यस विषयमा दुई देशका सरकारबीच सहमति बनिसकेको भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । 

 

उनकाअनुसार कुन कुन ठाउँमा भन्सार विन्दु थप गर्ने भन्ने टुंगो लाग्न भने बाँकी छ । उद्योग संगठन मोरङमा बिहीबार यस विषयमा छलफलसमेत भयो ।

 

 महानिर्देशक रायाले झापाको भद्रपुर र गौरीगञ्ज, मोरङको रंगेली वा मायागञ्ज, रौतहटको बंकुल र कञ्चनपुरको बेलौरीमा नयाँ भन्सार बिन्दु खोल्न दुवै देश सहमतिको नजिक पुगेको बताए । 

 

भन्सार विन्दुका लागि नेपाल–भारत वाणिज्य सन्धिले सहमति दिएअनुसार पूर्वाधार तयार चाँडै हुँदै छ । प्रदेश नम्बर १ को  झापा र मोरङसमेत गरी तीन नाका उद्योगी, व्यवसायी र स्थानीयका लागि बहुप्रतिक्षित छन् ।

 

 तीमध्ये रंगेली नाकालाई नेपाली पक्षले आफ्नो अडानका रुपमा राखेको छ । भारतीय पक्षले भने रंगेलीभन्दा पाँच किलोमिटर पश्चिममा पर्ने मायागञ्ज नाका खुलाउन जोड दिइरहेको स्रोतले बतायो ।

 

 पूर्वका उद्योगी व्यवसायीले भन्सार विभागका महानिर्देशक रायासँग भन्सार कार्यालयमा जाँचपास लगायतका नाममा हुने गरेका ढिला सुस्ती हटाउनु पर्ने माग गरे ।

 

 उनीहरुले समस्या समाधानका लागि सरकार गम्भीर भएर उद्योग व्यवसाय संचालनमा सहजता आउने पनि बताए । रायाले नयाँ भन्सार ऐन ल्याउने तयारी भइरहेका कारण ऐनले सबै खाले समस्याको समाधान गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्