सरकारी भवनलाई वेवास्ता, निजी भवनमा सरकारी कार्यालय



कैलाली : बैतडीको पाटन नगरपालिकामा पुराना सरकारी भवन प्रशस्त मात्रामा छन् । तर नगरपालिका भने निजी घरलाई कार्यालय प्रयोजनको लागि प्रयोग गर्दै आइरहेको छ । 

 

बैतडी जिल्लाका अधिकांश स्थानीय तहहरुसँग आफू बस्ने घर नहुँदा समस्यामा परेका छन् तर पाटन नगरपालिकासँग प्रशस्त मात्रामा भवन हुँदाहुँदै पनि घरभाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ । 

 

नगरपालिका स्थापना हुनभन्दा पहिला जिल्लाका सरकारी कार्यालय रहेको पाटन नगरपालिकामा महिला तथा बालबालिकाको कार्यालय, कृषि सेवा केन्द्र र पशु सेवा कार्यालयका भवन नगरपालिकालाई हस्तान्त्रण गरिएका हुन् । 

 

नगरपालिकालाई हस्तान्तरण गरिएका यी कार्यालयहरु अहिले खाली देखिन्छन् । नगरपालिकाले भने निजी घरलाई वार्षिक ४ लाख ९८ हजार भाडामा लिएर सबै कार्यालयका शाखा निजी घरमा सञ्चालन गरेको छ ।

 

नगरपालिकाले खाली रहेका कार्यालयलाई भाडामा पनि दिएको छैन । नगरपालिकाले निजी घरलाई भाडा तिर्नुभन्दा पनि यी कार्यालयको मर्मत गरेर यी कार्यालयमा नै कार्यालय सञ्चालन गर्न स्थानीय सुझाउँछन् ।

 

अहिले नगरपालिकाको नयाँ भवन निर्माणाधिन अवस्थामा छ । कार्यालयहरु असोज २१ गते नगरपालिकालाई हस्तान्त्रण गरिए । 

 

अरु स्थानीय तहमा कुनै सरकारी कार्यालय नभएर साविकका गाविस भवनमा गाउँपालिका र नगरपालिकाका कार्यालय स्थापना गरिएका छन् भने पाटन नगरपालिकामा भने सरकारी भवन हुँदाहुँदै पनि निजी घरमा कार्यालय सञ्चालन गरिरहेका छन् । 

 

हस्तान्तरण गरिएका कार्यालय भवनहरुको मर्मत संम्भार गरि कार्यालय प्रयोजनमा ल्याउन नगरपालिकाले पहल गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्